काठमाडौँ — राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् ।
सत्ता र सरकारमै रहेकाहरूको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उनको भनाइ छ । सत्ता र शक्तिमा बस्नेहरूको काम राष्ट्र र जनताको हितमा नभई व्यक्तिगत स्वार्थमा मात्रै सीमित भएको उनको टिप्पणी छ ।
पुराना पार्टीको आलोचना गर्दै आएका नयाँको व्यवहार पनि फरक नभएको सांसद केसीले टिप्पणी गरे । 'गणतन्त्र लोकतन्त्र विरोधीले त संसद् बहिष्कार गर्नु स्वाभाविक कुरा हो । पुराना पार्टीहरूले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरूको हालत पनि त हामीले देखिरहेका छौं । अब त हस्ताक्षर अभियान पो चलिरहेको छ देशभर !,' उनले भने ।
