सल्यान — जिल्लाको दार्मा गाउँपालिका २ लिरापाजा स्थित जनज्योति आधारभूत विद्यालयले यही शैक्षिक सत्रदेखि निर्माणका क्रममा ढलान मात्र गरी त्यत्तिकै छाडेको भवनमा दुई तिरबाट प्लाईउडले बारेर बनाएको अव्यवस्थित कोठामा पठनपाठन सुरु गरेको छ ।
विद्यालयको भवन हुँदाहुदै पनि वडाका सबै बस्तीका स्थानीयलाई पायक पर्ने भन्दै प्रदेश सरकारको ७० लाख बजेटमा निर्माण गर्न थालिएको र बजेट थप नगर्दा अलपत्र परेको भवन प्लाईउडले बारेको कोठामा विद्यालयले पठनपाठन सुरु गरेको हो ।
वर्षा भएमा पानी भित्रै पस्ने, हावाहुरी चल्दा बस्नै नमिल्ने र धुलाम्मे भुइँमा म्याट बिछ्याएर बस्नुपर्दा बालविकास, कक्षा १, २ र ३ का ५२ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । अव्यवस्थित कोठाको भुइँको चिसोका कारण विद्यार्थी बिरामी पर्न थालेका छन् । चारैतिर खुला भएकाले विद्यार्थीको ज्यान समेत जोखिममा परेको विद्यालयले जनाएको छ ।
बसाइँ व्यवस्थापन गतिलो नहुँदा विद्यार्थी विद्यालय जानै छाडेका छन् । २०४६ सालमा स्थापना भएको विद्यालयको लिरापाजामा भवन भए पनि सबैलाई पायक पर्ने भन्दै सबैको सल्लाह अनुसार ढलान मात्र गरेको अलपत्र परेको भवनमा विद्यालय सारिएको र पिलरबाहेक वरिपरी पर्खाल नभएकाले प्लाईउडले बारेर कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर केसीले बताए ।
५२ जनालाई एउटै कक्षामा राख्नुपर्दा चिसो, वर्षातको पानी र हावाहुरीले विद्यार्थी समस्यामा परेका उनले जानकारी गराए । ‘विद्यार्थी बढाउन सबै पायक पर्ने स्थानमा विद्यालय सार्न भन्दै गरेको माग अनुसार प्रदेश सरकारको ७० लाखमा पहिलाको विद्यालय भन्दा १५ मिनेटको दूरीमा पर्ने साङ्गटामा भवन निर्माण गर्न थालिएको थियो । गतवर्ष बजेट नपर्दा भवन निर्माणको काम बीचैमा रोकियो । अहिलेसम्म निर्माणको काम अगाडि बढेको छैन,’ उनले भने, ‘चिसो भुइँमा म्याट बिछ्याएर साना र अलि ठूला विद्यार्थीलाई बेन्चमा बसाउने गरे पनि समस्या देखिरहेका छन् ।’
कार्यालयसमेत झोलामा कागजात राखेर चलाइरहेको उनको गुनासो छ । बसाइँ व्यवस्थापन गतिलो नभएका कारण दैनिक १५ जनासम्म विद्यार्थी विद्यालय अनुपस्थित हुने उनको भनाइ छ । हिजोआज वर्षातको समय भएको र दैनिकजसो पर्ने पानी भित्रै पस्दा बालबालिकालाई पढाउन निकै कठिनाई भएको विद्यालयकी शिक्षिका चन्द्रकला खत्रीले बताइन् ।
लिरापाजाको पुरानो स्थानमा विद्यालय भवन भए पनि भूकम्पका कारण चर्किएको र विद्यार्थीलाई चर्किएको कोठामा राखेर पढाउँदा जोखिम हुने भएकाले विद्यालय सारेर अलपत्र भवनमा कक्षा सञ्चालन गर्दा शिक्षकलाई भन्दा स–साना बालबालिका बढी समस्यामा परेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रमेश खत्रीले बताए ।
पुरानै स्थानमा विद्यार्थी बस्न लायकको भवन हुँदा हुँदै सबैलाई पायक पर्ने बहानामा विद्यालय सार्दा पठनपाठन भन्दा विद्यार्थी समस्यामा परेका दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख रेशम वलीले बताए । विद्यालय सार्ने बारेमा कुनै निर्णय नभएको उनले जानकारी गराए ।
‘वर्षातको समयमा विद्यार्थी समस्यामा परेपछि अलपत्र परेको भवनले पूर्णता नपाउँदासम्म विद्यालय पुरानै स्थानमा सारेर पठनपाठन सुचारु गर्न विद्यालयलाई निर्देशन दिएका छौं,’ उनले भने । प्रदेश सरकारले भवन निर्माण गर्दागर्दै गतवर्ष बजेट नहालेपछि अलपत्र परेको भवन निर्माण गर्न यसपाली गाउँपालिकाले बजेट विनियोजन गरेको र छिट्टै काम सुरु गर्ने उनको भनाइ छ ।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले प्रदेश सरकारले बेवास्ता गरे पनि यो वर्ष पालिकाले पालिकाले अलपत्र परेको भवनलाई पूर्णता दिन ३० लाख बजेट विनियोजन गरेको बताए । अबको केही दिनमा विद्यालय बर्षे बिदा हुने भएकाले बिदाको समय पारेर निर्माणको कामलाई अगाडि बढाउने उनको भनाइ छ ।
