काठमाडौँ — विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरुले त्रिभुवन विश्वविद्यालयमा निर्वाचनबाट स्ववियुको प्रतिनिधित्व गराउन माग गरेका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी र स्वतन्त्र रुपमा निर्वाचित १६ जना स्ववियु अध्यक्षले खुल्ला प्रतिस्पर्धा, निर्वाचन वा कुनै निश्चित विधिबाट त्रिविमा विद्यार्थी सहभागी गराउनुपर्ने माग अघि सारेका हुन् । त्रिवि सभा (सिनेट) मा स्ववियु अध्यक्षहरु मनोनीत गर्ने व्यवस्था छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनको सिफारिसमा त्रिविले स्ववियु अध्यक्षहरुबाट मनोनीत गर्ने अभ्यास छ ।
गत चैतमा निर्वाचित स्ववियु अध्यक्षहरुले भने सिधै मनोनीत गर्नुको सट्टा निश्चित विधि र प्रक्रियाबाट सिफारिस हुनुपर्ने माग गरेका हुन् । त्रिविको सिफारिसमा प्रधानमन्त्री तथा कुलपतिले सिनेटमा विद्यार्थी प्रतिनिधि चयन गर्ने गर्छन् ।
त्रिचन्द्र, पद्यकन्या, जनप्रशासन, भक्तपुर, सानोठिमी, थापाथली इन्जिनियरिङलगायत क्याम्पसका स्ववियु अध्यक्षहरुले सबै निर्वाचितहरुको प्रतिनिधित्व हुने गरी सिनेट सदस्य चयन गर्नुपर्ने माग गरेका हुन् । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा स्वच्छेचारी र अपारदर्शी तरिकाले प्रतिनिधित्व चयन हुने गरेमो असन्तुष्टि समेत जनाएका छन् । सिनेटमा स्ववियु अध्यक्षहरुमध्येबाट सदस्य चयन गर्न कार्यविधि बनाउनुपर्ने उनीहरुको भनाइ छ ।
गत बिहीबार विद्यार्थी प्रतिनिधिबिनै सिनेट बैठक गरिएकोमा पनि उनीहरुको आपत्ति छ ।
