काठमाडौँ — निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ । छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ ७ बजे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका भदा सुयोग रेग्मीका अनुसार कुपण्डोलस्थित घरमा साढे ५ बजेतिर कुराकानी भइरहँदा छाती दुख्यो भनेपछि नर्भिक अस्पताल पुर्याइएको थियो । साँझ ७ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको रेग्मीले बताए ।
शव आज अस्पतालमै राखिने छ । परिवारका एक सदस्यका अनुसार भोलि आइतबार भारतबाट जेठी छोरी आएपछि शर्माको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ ।
इलाले २०६९ देखि ०७५ सम्म संवैधानिक निकाय निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् ।
शर्माको जन्म धनुषामा भए पनि उनी बनारसमा हुर्किएकी थिइन् । इला प्राध्यापन, पत्रकारितामा समेत संलग्न भएकी थिइन् ।
