संसद् भवनमा ड्रोन खसेपछि शिक्षक र विद्यार्थी प्रहरीको अनुसन्धानमा

असार २७, २०८२

विवेक पोख्रेल

Teachers and students under investigation by the police after the drone fell on the parliament building

काठमाडौँ — गत सोमबार राति ९ बजेतिर उडान निषेधित क्षेत्र संसद भवन भित्र ड्रोन खस्यो ।  प्रहरीले भोलिपल्ट बिहानमात्र सो ड्रोन भेट्यो । काठमाडौं-३१, नयाँ बानेश्वरमा पर्ने संसद् भवनको दक्षिणतर्फको छतमा  भेटिएको ड्रोन नजिकैको टेकस्पायर कलेजको भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार सो ड्रोन विद्यार्थीहरूले प्रयोगात्मक उद्देश्यका लागि बनाएर उडाएका थिए । उनीहरू सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत छन् ।

प्रहरी अनुसन्धानमा उनीहरूले हिमालयन सोलुसन्सबाट उक्त ड्रोन निर्माण गर्न आवश्यक पर्ने उपकरणहरु असार अन्तिम हप्ता खरिद गरेर ल्याएको देखिन्छ।  ‘विद्यार्थीहरूले कलेजमा नै एसेम्बल गरी ट्रायल फेजमा रहेको उक्त ड्रोनलाई थ्रस्ट टेस्ट गर्ने क्रममा जीपीएस सिग्नल लस्ट भई अनियन्त्रित हुँदा संसद् भवन क्षेत्रमा आएको रहेछ,’ बोहराले भने,‘घटनासँग सम्बन्धित अन्य बुझ्नु पर्ने व्यक्तिहरूलाई यस कार्यालयमा ल्याई बुझ्ने काम भईरहेको छ ।’ 

प्रहरीले पाठ्यक्रम संयोजक प्राध्यापक विजयबाबु रेग्मीसहित विद्यार्थीहरू समन महर्जन, सुजलकाजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताब रेजालाई तारेखमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीको अहिलेसम्मको अनुसन्धानले शैक्षिक प्रयोजनबाहेक अन्य उद्देश्यले ड्रोन उडाएको भेटिएको छैन । 

एसपी बोहराका अनुसार नेपाल नागरिक उड्यन प्राधिकरण ऐन-२०५३ अन्तर्गत अनुसन्धान गर्न प्राधिकरण र स्थानीय प्रशासनलाई प्रहरीले पत्राचार गरिसकेको छ । कलेजले भने असावधानीवस घटना हुन गएको जानकारी गराउँदै प्रहरीलाई पत्रसमेत पठाएको थियो ।

यस विषयमा बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको विषयमा बोल्दै उक्त ड्रोन कहाँबाट आयो ? किन आयो ? भन्नेबारे उनले चासो समेत राखेका थिए । ड्रोनबाट विभिन्न सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि समेत भइरहेको बेलामा उक्त विषय गम्भीर रहेको सांसद खतिवडाको भनाइ थियो । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully