काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भई शुक्रबार स्वदेश फर्किएकी छिन् ।
जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री राणाले सम्बोधन गरेकी थिइन् ।
सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रुपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरुले आधार प्रदान गरेका जानकारी दिएकी थिइन् ।
त्यसपछि जर्मनीको भ्रमणका क्रममा मन्त्री राणाले जर्मनीका विदेशमन्त्री जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । गत मंगलबार बर्लिनमा भएको सो भेटवार्तामा नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्धनका लागि दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन र प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखाना लगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन् ।
उनले नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि प्रस्ताव गर्नुका साथै नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताएकी थिइन् । मन्त्री राणाले ईयू र आइकाओको मापदण्डबमोजिम नै नेपालले कानुन निर्माण सुरु गरिसकेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि ईयूको एक प्रभावशाली सदस्य राष्ट्र जर्मनीसँग अनुरोध पनि गरेकी थिइन् ।
मन्त्री राणा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालद्वारा नेपालमा लगानी प्रवर्धनका लागि आयोजित कार्यक्रममा पनि सहभागी भएकी थिइन् । उनलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
