काठमाडौँ — विद्यालय भनेपछि धेरैको मानसपटलमा एउटा दृश्य नाच्छ– हल्ला गर्दै खेलिरहेका, कतै सुरिलो स्वरमा कविता र गीत गाइरहेका त कतै पाठ वाचन गरिरहेका विद्यार्थीको कोलाहल । तर काठमाडौंको नक्सालस्थित एक विद्यालयमा भने विद्यार्थी शान्त छन् । आवाजविहीन लालाबालालाई शिक्षाको ज्योति दिन खोलिएको यो विद्यालय हो केन्द्रीय बहिरा मावि ।
विद्यालय शान्त छ तर यतिबेला औधी खुसी छन् यहाँ अध्ययनरत ३८० विद्यार्थी । कारण हो, यहाँ पढेका २८ विद्यार्थीले हालै एसईई परीक्षामा ‘ग्रेडेड’ भएर ल्याएको सफलता । त्यो खुसी उनीहरू संकेतमार्फत नै आपसमा बाँड्छन् । सांकेतिक भाषामा उनीहरूले सिक्ने शैली र बुझ्ने कला फरक छ तर भविष्यको गोरेटो प्रस्ट छन्, जीवन बुझ्ने दृष्टि स्पष्ट छन् । यो वर्ष फेरि २३ विद्यार्थी एसईई परीक्षाको तयारी गरिरहेका छन् । उनीहरूसँग पनि कैयौं इच्छा, चाहना र सपना छन् । आफ्नो लक्ष्य प्राप्तिको मार्गमा उनीहरूका पाइला सरल रेखामा हिँडिरहेका छन् ।
कक्षा १० मा अध्ययनरत रिन्युज श्रेष्ठ उमेरले १८ वर्षका भए । चितवनमा जन्मेका रिन्युज बाल्यकालमा राम्रैसँग कान सुन्थे । तर बिस्तारै उनको श्रवण शक्ति कमजोर हुँदै गयो । संकेतमार्फत गरिएको संवादमा उनले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवन यात्रा बताए । कान सुन्न छोडेपछिको सुरुवाती दिनमा परिवार र साथीभाइसँग अन्तरक्रिया गर्न निकै नै असहज भएको उनको भनाइ छ ।
रिन्युजको संकेतमार्फत पढाइको यात्रा कक्षा ३ बाट सुरु भएको हो । आफूलाई कम्प्युटरको राम्रो ज्ञान भएको बताउने उनले भविष्यमा आईटी पढेर स्वदेशमै काम गर्ने अठोट लिएका छन् । सांकेतिक भाषामा सिकाएको खण्डमा हरेक काम गर्न सक्षम रहेको बताउने रिन्युज सांकेतिक भाषामै भन्छन्, ‘कान नसुन्ने भएकाले पढ्न सक्दिन कि भन्ने मलाई पटक्कै छैन । मसँग पनि कान सुन्ने विद्यार्थीहरूको जति नै क्षमता छ । कान सुन्ने क्षमता भएका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छु वा त्योभन्दा पनि राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’
सिन्धुपाल्चोकका कुशल कार्की पनि कक्षा १० मै पढ्छन् । उनी कक्षा ९ बाट यहाँ पढ्न थालेका हुन् । सिन्धुपाल्चोकमा रहेको सिन्धु बहिरा स्कुलमा कक्षा ८ सम्म पढेका उनी माध्यमिक तहको शिक्षा हासिल गर्न काठमाडौं आएका हुन् । १५ वर्षका कुशल आफूले एसईईमा उत्कृष्ट नतिजा ल्याउन मिहिनेत गरिरहेको बताउँछन् । भन्छन्, ‘मलाई भविष्य राम्रो होस् र राम्रो बनाउनुपर्छ जस्तो लाग्छ, उत्कृष्ट नतिजा ल्याउन मिहिनेत गरिरहेको छु । सांकेतिक भाषाका आधारमा पढ्ने र बोल्ने हामीमा पनि अन्य विद्यार्थीको जस्तो नतिजा ल्याउन सक्ने क्षमता छ भन्नेमा म विश्वस्त छु ।’ कुशल बहिरा विद्यार्थी पढ्नका लागि नेपालमै सुविधा सम्पन्न विश्वविद्यालय होस् भन्ने चाहन्छन् । ‘नेपालमै स्नातकोत्तरसम्म अध्ययन गर्न पाइयोस् भन्ने चाहन्छु,’ उनले भने ।
यसै बहिरा शिक्षालयमा पढ्ने अर्की विद्यार्थी हुन्, काठमाडौंमै जन्मेकी मेलिना लामा । कक्षा १० मा पढ्ने १७ वर्षीया मेलिनाका पनि पढाइ सकेपछिका सपना र योजना थुप्रै छन् । आफ्ना सपना पूरा नगरी कसैलाई नभन्ने अडान रहेको उनी बताउँछिन् ।
केन्द्रीय बहिरा मावि भएकैले आफू र आफूजस्ता बहिरा विद्यार्थी पढ्न पाएकामा उनी खुसी व्यक्त गर्छिन् । तर उनलाई कान सुन्ने जो सांकेतिक भाषा बुझ्दैनन्, उनीहरूसँग अन्तरक्रिया गर्न निकै गाह्रो हुँदा दुःख लाग्ने बताउँछिन् । मेलिना भन्छिन्, ‘सांकेतिक भाषासम्बन्धी ज्ञान नभएकाले हामीले के भनिरहेका छौं भन्ने बुझ्न सक्दैनन् र उनीहरूको कुरा पनि हामी सुन्न र बुझ्न सक्दैनौं, यो नरमाइलो लाग्छ ।’
रामेछाप घर भएकी सुमना तामाङ उमेरले १८ वर्षकी भइन् । सुमना आफूलाई खेलकुद निकै मन पर्ने र खेलकुदमै आफूले भविष्य कोर्न चाहेको बताउँछिन् । भन्छिन्, ‘मलाई खेलकुदमा भाग लिन निकै मन पर्छ र म अहिले जुडो खेल सिक्दै छु, आफ्नो भविष्य खेलकुदमै बनाउने मन छ ।’
सुमना भन्छिन्, ‘संकेतका आधारमा हामीले पढ्ने भएका कारण हुन सक्छ, थोरै गणित विषय गाह्रो लाग्छ तर जति गाह्रो भए पनि शिक्षकको सहायताले सिक्ने प्रयास भने सधैं गर्छु । हामीजस्ता कान नसुन्ने विद्यार्थी, शिक्षक र यस्ता विद्यालयसम्म सरकारको धेरै नै सहयोग होस्, केही अभाव नहोस्, सबै कुराको सुविधा होस् र अभावका कारण हाम्रो पढाइ कमजोर नहोस् ।’
प्रधानाध्यापक उपेन्द्र पराजुली संकेतका आधारमा विद्यार्थीलाई पढाउँदा पनि उनीहरूले ल्याएको नतिजाले निकै सन्तुष्टि बनाएको बताउँछन् । भन्छन्, ‘विद्यार्थी बहिरा अपांगता हुन् तर उनीहरूको मानसिक स्वास्थ्य निकै राम्रो छ, सम्झन सक्ने क्षमता पनि अरू विद्यार्थीको भन्दा राम्रो छ । संकेतका आधारमा पढेर पनि राम्रो नतिजा आउँदा निकै खुसी लाग्छ ।’
कान नसुन्ने भए पनि बहिरामैत्री तरिकाले विषयवस्तु दिएको खण्डमा जस्तोसुकै विषयबारे पनि शिक्षा ग्रहण गर्न विद्यार्थी सक्षम रहेका उनी ठान्छन् । ‘सिकाइका लागि धेरै मात्रामा दृश्य शैक्षिक सामग्री आवश्यक पर्ने भएका कारण लागतको हिसाबले अलि बढी खर्च भने हुन्छ,’ उनी भन्छन्, ‘नेपाली सांकेतिक भाषाको भण्डार अलि कम छ । जसका कारण उनीहरूको लेखाइमा शुद्धता ल्याउन भने अलि गाह्रो हुन्छ । दृश्य सामग्री पर्याप्त मात्रामा भए सिकाइ प्रक्रिया थप सहज र गुणस्तरीय हुन सक्छ ।’
यस विद्यालयबाट उत्तीर्ण भएका बहिरा विद्यार्थी विभिन्न विषयका सांकेतिक भाषामा पढाउने शिक्षकदेखि नेपालका पाँचतारे होटलका कर्मचारी (सोल्टी, हिल्टन) र उद्योग कलकारखानासम्म काम गरिरहेका विद्यालयले जानकारी दिएको छ ।
अंग्रेजी शिक्षक गोविन्द अधिकारी अन्य सामान्य सामुदायिक विद्यालयमा पढाउने शिक्षकलाई जसरी सेवा सुविधा अपांगता पढ्ने विद्यालयमा नरहेको बताउँछन् । भन्छन्, ‘अन्य सामुदायिक विद्यालयको जस्तो सेवा सुविधा नभएका कारण सांकेतिक भाषाका दक्ष शिक्षकहरू राम्रो सेवा पाएमा अन्य ठाउँमा जाने प्रवृत्ति छ, फेरि सांकेतिक भाषाका शिक्षक ल्याउन गाह्रो हुन्छ, नयाँ शिक्षकलाई सांकेतिक भाषामा दक्ष हुन समय पनि लाग्छ ।’२०२३ मा स्थापना भएको यो स्कुलबाट २०५५ देखि विद्यार्थीले एसएलसी/एसईई दिँदै आएका छन् ।
हालसम्म ५ सय ९ जना उत्तीर्ण भएका छन् । बहिरा केन्द्रीय माविबाट गत एसईईमा सहभागी २८ विद्यार्थीमध्ये १९ छात्र र ९ छात्रा थिए । १९ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् भने ७ जनाले २.८ देखि ३.२ ल्याए । २.४ देखि २.८ जीपीए ल्याउनेमा दुई जना छन् ।
