काठमाडौँ — गृहमन्त्री रमेश लेखकले बाबुपीडित सन्तानका लागि आमाको नामबाट नागरिकता दिने कानुनी व्यवस्था गरिएको बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गृहमन्त्री लेखकले नागरिकता वितरणमा देखिएको र त्यसलाई समाधानका लागि कानुनी व्यवस्था गरिएको बताए ।
गृहमन्त्री लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्न लागिएको बताए ।
नागरिकता ऐनलाई संशोधन गरेर आमाको नामबाट नागिकता दिने व्यवस्था गर्न लागिएको बताएका हुन् । ‘जुन बाबुको सन्तानले नागरिकता दिन सहयोग गरिरहेका छैनन्, जुन बाबु भौतिक रुपले बाबु भएपनि आफ्ना सन्तानलाई स्नेह, संरक्षण र अभिभाकत्व दिन तयार छैनन् र सन्तानले आफ्नो बाबु भएको अनुभूति गर्न सकेको छैन त्यस्ता सन्तान अथवा बाबुपीडित सन्तानको लागि यो व्यवस्था गरिएको हो,' उनले भने, 'यदि कोही आमापीडित सन्तान छन् भने बुबाको मात्रै नामबाट पनि नागरिकता पाउनसक्ने व्यवस्था गर्न सकिन्छ ।'
गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकारले विधेयकमा विभिन्न प्रस्ताव समावेश गरेको जानकारी दिए । वर्तमान व्यवस्थाअनुसार बाबु र आमा दुवै नेपाली नागरिक भएमा मात्र सन्तानले वंशजको नागरिकता पाउने र आमा विदेशी भएमा सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था रहेको उनले बताए ।
संविधानको व्यवस्था परिवर्तन नगरी नागरिकता ऐन संशोधन गर्दा कानुनी जटिलता आउने भएकाले सावधानीपूर्वक विधेयक अगाडि बढाइएको पनि गृहमन्त्री लेखकको भनाइ थियो । 'आमाको नामबाट नै वंशजको नागरिकता दिने प्रावधान पनि राख्न सकिन्छ तर त्यसका लागि संविधानतर्फ पनि हेर्नुपर्ने आवश्यकता हुनसक्छ । अहिले हामीले आमा र बाबु दुवै नेपालकै नागरिक हुन भने वंशज हुन्छ । यदि आमा नेपाली नभए अंगिकृत नागरिकता हुन्छ भन्ने व्यवस्था गरेको कारण संविधानको व्यवस्था नै परिवर्तन हुनेगरी ऐन बनायौं भने त्यो ऐन कार्यान्वयन हुन सक्दैन,’ उनले भने ।
गृहमन्त्री लेखकले विधेयक चाँडै सभाबाट पारित गरिदिन पनि आग्रह गरेका थिए ।
