काठमाडौँ — कान्तिपुरकर्मी प्रकृति दाहाल र गगनशीला खड्कासहित चार पत्रकारलाई सरकारले यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको ‘युवा पत्रकारिता पुरस्कार-२०८१’ वितरण समारोहमा शुक्रबार खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार प्रदान गरे । दाहाल कान्तिपुर पब्लिकेशन्स्को सहप्रकाशन नारी मासिकमा र खड्का कान्तिपुर दैनिकमा कार्यरत छिन् ।
अन्नपूर्ण पोस्टकी ममता थापा र राष्ट्रिय समाचार समितिका सुशील दर्नाल पनि उक्त पुरस्कारबाट पुरस्कृत भए ।
पुरस्कारका लागि दर्ता हुन आएका ४६ आवेदनमध्ये युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ (दोस्रो संशोधन, २०८१ सहित) को दफा ४ को उपदफा (२) बमोजिम मूल्यांकन तालिकाका आधारमा अधिकतम अंक प्राप्त गर्ने पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।
मन्त्रालयले युवा विकासका सवालमा उपलब्ध अवसर र सम्भावना उजागर गरेको, युवा उद्यमशीलता विकास, रोजगारी/स्वरोजगारीका सवालमा पत्रकारितामार्फत योगदान पुर्याएको, पत्रकारिताको माध्यमबाट विशेष प्राथमिकताका समूहका युवाको विकासमा क्रियाशील रहेको, युवा पत्रकारिताको क्षेत्रमा निरन्तर क्रियाशील रहेको र दुर्गम तथा पिछडिएको क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट युवा विकासको क्षेत्रमा क्रियाशील रहेको विषयलाई मूल्यांकनको आधार मानेको थियो ।
खेदकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा गठित ‘युवा पत्रकारिता पुरस्कार’ छनोट समितिले पुरस्कृतहरुको छनोट गरेको हो । समितिको सदस्यमा खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द शिवाकोटी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव ममता बास्तोला, खेलकुद मन्त्रालयका उपसचिव सुरेन्द्रकुमार बज्राचार्य (समितिका सदस्यसचिव) र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र नेपाल पत्रकार महासङ्घका सचिव रमेश खतिवडा रहेका थिए ।
