सिमलताल बस दुर्घटनाको वर्ष दिन : समितिको सिफारिस अलपत्र

असार २७, २०८२

रमेशकुमार पौडेल

Anniversary of Simaltal bus accident: The committee's recommendation is pending

चितवन — नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिक दुई वटा बस लेदोमा बग्दै त्रिशुली नदीमा बेपत्ता भएको शनिबार वर्ष दिन हुँदैछ । दुईवटै बसमा गरी ६२ यात्रुमध्ये एउटा बसका तीन जना मात्रै सकुशल भेटिएका थिए । बससँगै बगेकामध्ये १९ जनाको शव भेटिएर सनाखत भए पनि अन्य ४० यात्रु र दुवै बस नदीमा बेपत्ता भए ।

यो घटनासँगै देशमा सरकार परिवर्तन भयो र गृहमन्त्रीमा नियुक्त भए रमेश लेखक । गृहमन्त्री लेखकको पहिलो निर्णय नै सिमलताल दुर्घटनाको विस्तृत अध्ययनका लागि कार्यदल निर्माण गर्नु भन्ने रहेको थियो । गृहमन्त्रीको गत वर्ष असार ३१ को निर्णय अनुसार गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले गत वर्षको साउन २३ मा प्रतिवेदन बुझाएको थियो ।

दुर्घटनाको कारण र रोकथामका उपायका लागि विभिन्न निकायले खेल्नुपर्ने भूमिका किटान गरेर कार्यदलले प्रतिवेदन तयार गरेको थियो । सडक दुर्घटनाका कारणहरू न्यूनीकरण गर्न, खोज तथा उद्धार कार्यलाई चुस्त बनाउन र राहत प्रक्रियालाई सरल पार्न समितिले विभिन्न सुझाव र सिफारिस गरेको थियो । दुर्घटना भएको वर्ष दिन बित्दा त्यसको कार्यान्वयनको अवस्था चित्त बुझ्दो छैन ।

सडक दुरावस्था रोक्न असफल

कार्यदलको तयार पारेको ४४ पृष्ठको प्रतिवेदनमा निष्कर्षको पहिलो बुँदामा दुर्घटना स्थलभन्दा माथि खनेको ग्रामीण सडकका कारण आएको पहिरोलाई दुर्घटनाको कारणका रूपमा उल्लेख गरिएको छ । प्रतिवेदनमा सहायक राजमार्गहरूको ट्र्याक खोल्दा सार्वजनिक सडक ऐन २०३१ बमोजिम सडक विभागसँग सहमति लिनुपर्ने विषय कार्यान्वयन गर्न भनिएको छ । तर यसमा प्रगति भएको नदेखिने सडक विभागका अधिकारीहरू बताउँछन् ।

‘सहमति लिइयो या लिइएन भनेर डाटा लिन भ्याएका त छैनौँ तर यसको परिपालन एकदम कम छ । कहीँकहीँ लिएका पनि होलान् तर समग्रमा भन्नु पर्दा लिने चलन लगभग छैन,’ सडक विभागका उप–महानिर्दशक तथा प्रवक्ता इन्जिनियर प्रभातकुमार झाले भने । चितवनमा पछिल्ला दिनमा राजमार्ग छेउ पारेर सहायक सडक खनेको नभेटिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

‘सहमति लिन कोही आएका पनि छैनन् र हामीले राजमार्ग आडमा त्यसरी सहायक मार्ग खोल्ने खन्ने गरेको यो पटक देखेका भने छैनौँ । नखोलेका कारण सहमति लिन नआएका होलान्,’ भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले भने । योबाहेक बर्खाका बेला हुन सक्ने सडक अवरोध हटाउन मेसिन उपकरणहरूसहित कार्यालय तयारी अवस्थामा रहेको पनि उनले बताए ।

थपिएनन् उद्धार सामग्री

दुर्घटनापछि खोज उद्धारमा खट्ने उद्धारकर्मीहरूलाई आधुनिक औजार उपकरणको अभाव रहने गरेका सो घटनाका बेला प्रस्ट भएको थियो । गृह मन्त्रालयले गठन गरेको कार्यदल गत वर्षको साउन १९ मा चितवन कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा आएर उद्धारका क्षेत्रमा गर्नुपर्ने सुधारबारे सुझाव लिएको थियो । सशस्त्र प्रहरीको गोताखोरसहितको टोली नदीहरूमा खोज उद्धारमा खट्ने गर्छ ।

समितिले प्रतिवेदनमा विभिन्न किसिमका आधुनिक औजार उपकरण यथाशीघ्र व्यवस्थापन गरी प्रयोगमा ल्याउन सिफारिस गरेको थियो । सिमलताल दुर्घटनामा उर्लँदो र धमिलो पानीले खोजीमा बाधा पुर्‍याएका कारण यी उपकरणको आवश्यकता महसुस भएको थियो ।

Anniversary of Simaltal bus accident: The committee's recommendation is pending

दुर्घटनास्थलमा गत वर्ष भएको भारतीय र नेपालको सशस्त्र प्रहरीको खोजी कार्यको फाइल तस्बिर ।

गएको जेठ ७ मा सशस्त्र प्रहरीको कुरिनटारमा तालिम प्राप्त २० जना गोताखोरहरूलाई प्रमाणपत्र दिने कार्यक्रम थियो । गृहमन्त्री लेखक, गृह सचिवसमेत सहभागी उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्धार सामग्री अभावका कुरा उठाउन बिर्सेनन् । अर्थात् प्रतिवेदनले सिफारिस गरेको वर्ष दिन हुँदै गर्दा र बर्खा लाग्दै गर्दासमेत सशस्त्र प्रहरीले उद्धारका भने जस्तो सामग्री पाएको थिएन ।

‘हिजो जे थिए तिनै औजार उपकरणबाट यो पटक पनि हामी खट्दै छौँ । यो बीचमा नयाँ औजार उपकरण थपिएका छैनन्,’ सशस्त्र प्रहरीको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रवक्ता एसपी जनक पुरीले भने । हाल सशस्त्र प्रहरीले नदीमा हुने खोजी उद्धारका लागि ४० हर्स पावर (एचपी)को मोटरबोट प्रयोग गर्छ । बर्खायाममा नदीको बहाव तीव्र हुँदा यसले काम गर्न गाह्रो हुन्छ ।

Anniversary of Simaltal bus accident: The committee's recommendation is pending

योभन्दा सकेसम्म डबल र नभए पनि कम्तीमा ६० एचपीको मोटरबोट आवश्यक भएको एसपी पुरीले गत वर्ष नै कार्यदल सामु कुरा राखेका थिए । त्यसैगरी खोज उद्धारमा प्रयोग हुने लाइफ ज्याकेट लगातार १२ घण्टासम्म पानीमा प्रयोग गर्न मिल्ने खालका हुनुपर्ने पनि उनले बताएका थिए । आधुनिक औजार उपकरणको अभावमा धमिलो पानी र गहिराइमा काम गर्न गाह्रो भयो भन्ने भनाइ उद्धारकर्ताहरूको रहेको थियो । समितिले प्रतिवेदनमा उपकरणको व्यवस्थापन गरी प्रयोगका ल्याउने कार्य गृह मन्त्रालयको नेतृत्वमा गर्नु पर्ने सिफारिस गरेको थियो । जेठ ७ को कार्यक्रममा कुरिनटार आएका गृह सचिव गोकर्णमणि दुवाडीले पत्रकारहरूसँग कुरा गर्दै सिमलताल दुर्घटनाको छानबिनका लागि गठन भएको कार्यदलको सुझाव क्रमशः कार्यान्वयन हुँदै जाने विषय भएको बताएका थिए ।

Anniversary of Simaltal bus accident: The committee's recommendation is pending

‘अत्यावश्यक विषय र आपत्कातीन अवस्थाका राहत सामग्री उपलब्ध भएकै छन् । तर दीर्घकालीन रूपमा हामीले अपेक्षा गरेको र प्रतिवेदनले गरेको सिफारिस अनुरूपको व्यवस्था अझै भएको छैन,’ गृह सचिव दुवाडीको भनाइ थियो । उनले बजेटको प्रबन्ध अनुसार औजार उपकरण व्यवस्था हुँदै जाने बताए । ‘स्रोत हुनु पर्‍यो । देशको आर्थिक अवस्था मैले भनिरहन परेन । हामीले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सक्ने सामग्रीका लागि बजेटमा पहल गर्ने र नसक्नेहरूलाई अन्तर्राष्ट्रिय दातृ संस्थाबाट सहयोग लिनु पर्ला,’ गृह सचिवको भनाइ थियो ।

भएन त्रिशूलीको नक्सांकन

त्रिशूली नदीमा गाडी खसेपछि भेट्नै गाह्रो हुने अवस्था रहेको हुँदा मन्त्रालयले गठन गरेको कार्यदलले नदीको पिँधको नक्सांकन गर्न र हराएका गाडी खोज्न भनेको थियो । तर गत वर्षको बर्खा सकिएसँगै यो कुरा पनि बिलाएर गयो । हिउँद बित्यो तर न हराएका गाडी खोजिए न नदीको नक्सांकन नै भयो । कार्यदलले सशस्त्र प्रहरीलाई यसको जिम्मेवारी तोकेको थियो । सशस्त्र प्रहरीका केन्द्रीय सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्रलाई कार्यदलले सुम्पेको जिम्मेवारी पूरा गर्न के कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्ने विषयमा योजना बनिरहेको जानकारी दिए ।

समुदायलाई विपद् व्यवस्थापनमा जागरूक बनाउने जस्ता योजना कार्यान्वयनमा आएको पनि उनले बताए । गत वर्षको असार २८ गते शुक्रबार बिहानपख साढे ३ बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलोमिटर पूर्वोत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । बस त्रिशूलीमै पुगे पनि एञ्जल बसका तीन जना यात्रुले आफै पौडिएर ज्यान जोगाएका थिए । दुवै बसमा गरेर ६२ जना रहेका थिए ।

Anniversary of Simaltal bus accident: The committee's recommendation is pendingफाइल तस्बिरहरु

तीन जनाबाहेक अन्य यात्रु र दुई वटा बस त्रिशूलीमा बेपत्ता भए । खोजी टोलीले घटनास्थलदेखि लगभग १०३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २४ वटा शव फेला पारेको थियो । तीमध्ये १९ वटा शव मात्रै पहिरोमा परेको बसका यात्रुको भएको पुष्टि भएको थियो ।

परिवारले सनाखत गरेका ती १९ शवमध्ये तीन महिला र १६ पुरुष छन् । एउटा बसमा सात र अर्कोमा दुई गरेर नौ जना भारतीय नागरिक पनि बससँगै नदीमा बेपत्ता भएका थिए । जसमध्ये पाँच जना भारतीयको शव फेला परेको छ । सकुशल रहेका तीन र शव भेटिएर सनाखत भएका १९ जनाबाहेक बाँकी ४० यात्रुको अवस्था अज्ञात छ ।

बस खोज्न भारतीय प्राविधिक टोली पनि गत वर्ष साउन ६ गतेदेखि एक सातासम्म त्रिशूली र नारायणी नदीमा खटेको थियो । भारतीय टोलीले पनि बस र अन्य शव भेटाउन सकेन । त्रिशूली नदीको उर्लँदो भेल र उच्च बहावले खोजी कार्यमा बाधा दिएको भारतीय प्राविधिकहरूले बताएका थिए । भारतीय फर्के पनि घटना भएको एक महिनासम्म सशस्त्र प्रहरीले खोजी कार्य जारी नै राखेको थियो ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully