भक्तपुरका गल्लीबाट प्रशिक्षित कुमः सागर

संगीतको कुनै पनि औपचारिक शिक्षा नलिएका कुमःसागर असलमा ‘म्युजिक डिजाइन’ गर्ने गायक हुन् । उनका गीत सुन्दा पश्चिमा जस्तो पनि लाग्छन्, लोकजस्तो पनि । र, सुन्दै जाँदा रक, पप र भजनजस्तो पनि । उनलाई भने आफ्नो गीतको ‘जनरा’ बारे वास्ता छैन ।

असार २६, २०८२

दीपक सापकोटा

Kum: Sagar trained from the streets of Bhaktapur

काठमाडौँ — भक्तपुरका ओसिला र अँध्यारा–उज्याला गल्लीमा कुमःसागर सपना, दुःख र खुसीको ‘फ्युजन’ भेट्छन् । आफू हिँडिआएका तिनै गल्ली र मन्दिरमा बजिरहेका घन्ट नै आफ्ना गीतका ‘र मेटेरियल’ लाग्छ उनलाई । ‘भक्तपुर त्यसैले जहिल्यै संगीतमा झुमिरहेको सहर हो,’ कुमः भन्छन्, ‘मन्दिरहरूमा साँझ बज्ने तबला–हार्मोनियम र भजन सुन्न देउतै आएजस्तो लाग्छ ।’

‘देवी–देउताले भ्रमण गर्ने’ सहरमा उनी पनि संगीत–तालमा मस्त–मग्न भइरहन्छन् । ‘म भक्तपुरमा संगीत मात्रै भेट्छु । त्यसैले सहरबाट हत्तपत्त बाहिर निस्किन्न,’ उनी भन्छन्, ‘मेरो गीत गल्लीको भजन हो, यसलाई भक्ति–संगीत भने हुन्छ ।’

कुमःको सहर भक्तपुरका प्रत्येक चोक, गल्ली, डबली र फाल्चाले सहरको किंवदन्ती र मान्छेका ‘मिथ’ सुनाइरहेका छन् । भन्छन्, ‘त्यही आख्यान–लोकले आफूलाई गायक बनायो । भक्तपुरका गल्लीहरूको कथा मेरा गीतका पनि कथा हुन् । मेरा गीतमा यहींको टोन छ । त्यसैले तिनलाई भक्तपुरको धुन भन्न मिल्छ ।’ 

आफ्ना गीतलाई ‘सहरकै कथा’ भनिरहेका उनी भक्तपुरको पुरानो समयतिर विचरण गर्छन्, जतिबेला उनी बाजेको हात समातेर भजन सुन्न दाफा खलःहरूमा पुगिरहन्थे । कुमःलाई भक्तपुरमा जन्मिनुले ‘भाग्यमानी’ को बोध दिलाएको छ । ‘मैले पहिलेको जन्ममा पुण्य नै गरेको हुनुपर्छ,’ उनी आस्थिक सुनिन्छन्, ‘मेरा साथीभाइ–आफन्ती यहीं छन् । मलाई आफ्नै घरमा बस्न मनपर्छ, कौसीमा बसेर सहर हेर्न मनपर्छ ।’

भक्तपुर र यहाँका गल्लीप्रतिको प्रेम कुन तहको छ भने कुमःलाई यही सहरसँग जोडिएको काठमान्डु पनि ‘अर्कै देश’ जस्तो लाग्छ । ‘म त काठमाडौंमा हिँडेको पनि कलेज पढ्दा मात्रै हो । चिडियाखाना, महाबौद्ध र रत्नपार्क मात्रै याद छ उता हिँडेको,’ कुमः भन्छन्, ‘हाम्रा भक्तपुरका बाजे–बज्यैहरू अझै काठमाडौं गएकै छैनन् । यहाँ काठमाडौंका पशुपति, गोकर्ण मात्रै थाहा हुनेहरू धेरै छन् ।’

...

गहिरो ध्यानमा लीन भएर आलाप तान्दै उनी मल्लकालीन नेवाः भजन गाउँछन्– 

कुमारी जननी ए ह, कुमारी जननी देवी, अमूर्त भैरव, ए जननी !

दुःखहरूमाझ बाँचिरहेको दुनियाँमा कुमः संगीतको सुरतालमै जीवन, धर्ती र हावाको लहरमा लहरिन्छन्–

जिन्दगीमा आयौ फेरि शीतल बनी, रहिरहन मन भो तिम्रै छाया बनी

बिहानको किरणसँगै उज्यालो पारी, धर्तीमा आयौ फेरि भगवानसरी

हावाको लहरसँगै उडिरहन मन भो, तिम्रो त्यो बास्ना मनमा चल्यो रे

तिम्रो त्यो बोलीमा मगन भएर, तिम्रै अगाडि फूलहरू पनि चमचम गर्दै नाच्यो रे !

Kum: Sagar trained from the streets of Bhaktapur

उनको पहिलो गीतमा बाजेलाई स्मरण गरेका छन्, जो तमाखुका अम्मली थिए । गीत थियो– ‘बाजेको बजां’ । आकाशतिर उडिरहेको तमाखुको ‘धूवाँ’ को झुप्पाको स्मृति र मोहमा कुमःले तमाखु अर्थात् बजांलाई बाजाहरूसँग फ्युजन गरे–

आकाशैमा उडेझैं लाग्यो, खोलैमा बगेझैं लाग्यो

बाजेको बजांले, छमछम नाचिदिउँजस्तो

लाग्यो नि तिम्रो हेराइले, धूवाँधूवाँ भयो खरानी, खरानीमै उडौं लाग्यो नि !

व्यापक रुचाइएको कुमःको गीत छ– 

जाने भए जाऊ, ए माया अब धेरै नसताऊ

तिम्रो त्यो चाल देखेर आज, फुरफुरी लाग्यो नि हौ 

‘यो गीत हाम्रो शिवको गीत हो,’ कुमः भन्छन्, ‘एउटै गीत बनाउन वर्षौं लाग्छ । यो पनि त्यस्तै भयो ।’ तामाङ सेलो भाकालाई उनले नेवाः लोकबाजा, लोकधुनको फ्युजन गराए, जुन गीत श्रोताले असाध्यै ध्यानस्त भई सुने ।

कुमःलाई थाहा छ– जीवनमा दुःख त छ, तर जीवन इन्द्रेणीजस्तो पनि छ । त्यसैले त उनले गाएका छन्–

परबाट सुन्दा तिम्रो त्यो बोली, मुटुमै लागेर मन रमायो रे

तिम्रो त्यो हेराइमा मगन भएर, यो बेरंगी जिन्दगीमा इन्द्रेणी बनी आयौ रे

‘म कौसीमा बसिरहेको थिएँ, अचानक यो गीत फुर्‍यो । घाम लाग्ने बेला अलि बढी गीत फुर्छ मलाई,’ उनी भन्छन्, ‘यदि घाम पृथ्वीमा नआएको भए अन्धकारै त भइराख्थ्यो । त्यही भएर, यो गीतमा ‘परबाट आयो’ भन्नुको मतलब, पूर्वबाट आयौ बन्न खोजेको हो ।’ 

‘टुकी बालेसरी जिन्दगी उज्यालो पारी, आयौ तिमी भगवानसरी’ भन्ने लाइन छ गीतमा, जुन कुमःले राति बत्ती निभाएको बेला केही बोध भएपछि लेखेका हुन् । ‘मोबाइलको टर्चलाइट बालेपछि अँध्यारो कोठामा सानो झिल्को उज्यालो आयो । त्यसपछि मलाई लाग्यो– जिन्दगी नै उज्यालो भयो । र, लेखे– अँध्यारोमै यो लाइन,’ उनले सम्झिए । गीतमा भनेझैं ‘जिन्दगी इन्द्रेणीझैं सप्तरंगी’ लाग्छ उनलाई । 

Kum: Sagar trained from the streets of Bhaktapur

‘मुक्ति एन्ड रिभाइबल’ ब्यान्डका गीतबाट प्रभावित भई गाउन थालेका कुमःलाई आफ्नो गीतको ‘जनरा’ बारे वास्ता छैन । ‘खै मैले आफैं आफ्नो गीतबारे खोजेको छैन, तपाईंहरू भनिदिनुस् न, मैले गाएको कुन विधाको गीत हो,’ उनी भन्छन्, ‘मलाई कन्फ्युजन छ । मेरा गीतलाई भगवान्को गीत भनौं कि ? भजन भने पनि हुन्छ वा पप–भजन भने हुन्छ ।’ कुराकानीका क्रममा कुमःले निकै पटक दोहोर्‍याए– ‘म भगवान्का लागि गीत बनाउँछु, भगवान्कै लागि गाउँछु ।’ 

...

संगीतको कुनै पनि औपचारिक शिक्षा नलिएका कुमःसागर असलमा ‘म्युजिक डिजाइन’ गर्ने गायक हुन्, जो युवापंक्तिका प्रिय गायक–अवतारका रूपमा चिनिन्छन् । उनका गीत सुन्दा पश्चिमा जस्तो पनि लाग्छन्, लोकजस्तो पनि । र, सुन्दै जाँदा रक, पप र भजनजस्तो पनि । उनका गीतमा यी सबैको फ्युजन भेटिन्छ । 

कुमःको ‘द ख्वपः ब्यान्ड’ केवल भक्तपुरको होइन, देशकै सान बनेको छ । मुलुकभित्र होस् वा विदेशमा, जताततै कुमः र उनको ब्यान्डको माग छ । गीत–संगीतका जानकारहरू कुमःका गीतले लामो अन्तरालपछि नेपाली संगीतमा नयाँपन ल्याएको दाबी गर्छन् । त्यही भएर नै कुमःका सिर्जनालाई संगीतप्रेमीले हृदयदेखि स्वागत गरेको र हौसलाको हातले धाप मारिरहेको उनीहरूको ठम्याइ छ । 

गीत सुनेपछि थाहा हुन्छ, उनी गायक मात्र होइनन्, एक कुशल शब्दशिल्पी पनि हुन् । गीतमा काठमान्डु उपत्यकाका देवता कुमारी, भैरवलाई कुमःले आस्था र संस्कृतिसँग जोडेका छन् । मौलिक बाजाको मिश्रण बेजोड भेटिन्छ । नयाँ पुस्ताका लागि कुमः ‘हाम्रा गायक’ हुन्, जसले संस्कृतिको डोरो समाएर पीडा, दुःख, प्रेम र बिछोडका कथा गाएका छन्, जसरी कुनैबेला बब डिलनले गीतमा आफ्ना कथा सुनाउँथे । 

गीतकार विप्लव प्रतीकको विचारमा कुमःसागर हृदयदेखि गाउँछन्, त्यसैले श्रोताको हृदयसँग जोडिएका छन् । ‘सफलता क्षणिकभन्दा दिगो भएको कलाकार र श्रोता दुवैको हितमा हुन्छ । त्यसैले कुमःलाई अब आफ्ना सिर्जनालाई झन् उम्दा बनाउने जिम्मेवारी आइलागेको छ, जुन जिम्मेवारी उनलाई बोध भइसकेको हुनुपर्छ,’ विप्लव भन्छन् । 

भिन्न र विशिष्ट गायकीबाट कुम:को पहिचान बनेको छ । उनको आवाज र ‘मेलोडी’ सँग म्युजिक–म्याच भएको छ । अनलाइन पत्रिका ‘सेतोपाटी डट कम’ का सम्पादक सुदीप श्रेष्ठ ‘डाइ–हार्ड’ फ्यान हुन्– कुमः सागरको, जसले कुमः माथि गहिराइमा डुबेर लामो आलेख लेखेका छन्– अहिले हावामा कुमः सागरको लहर छ । सुदीपले एक फ्यानका रुपमा कुमःलाई सुनिरहे । त्यो सुन्ने क्रम कस्तो छ भने, आजसम्म पनि सुदीप कम्तीमा एकपटक कुमःको प्लेलिस्ट सुन्छन्– प्रत्येक बिहान उठेपछि र सुत्नेबेला । आमाको ‘लोरी’ वा ‘परिकथा’ सुनेर एक बालक निदाएझैं सुदीप कुमः सुनेर निदाउँछन्, उनको घरमा दैनिक कुमः प्लेलिस्ट बजिरहन्छ । कार्यालयमा सुदीपमाथि एक कहावत छ– ऊ एउटा काममा लाग्छ, त्यो कामबाट निस्केपछि कुमःसागरमा लाग्छ । 

७ महिनासम्म लगातार कुमःका गीत सुनेपछि सुदीपलाई ती गायकसँग भेट्ने, गफ गर्ने  अभिलाषा जाग्यो । पहिलोपटक कुनै म्युजिकले ‘सुदीप–सोल’ हल्लाइदियो । उनले भेट्न चाहना गरें, तर ज्यान जाला सकेनन् । अभिलाषा आत्मामै रहिरह्यो । अनि त्यो ह्याङ बिसर्जन गर्न उनले लामो आलेख लेखे, कुमःलाई नभेटिकनै । ‘म बाटोमा हिँड्दा पनि उनैको गीत सुन्थें, साइको जस्तै भएको थिएँ,’ सुदीप भन्छन्, ‘कुमःको गीतमा काठमान्डुको आवहवा छ । उनका गीतहरूले मन्दिर, गल्लीतिरको म्युजिक पक्रेको छ र त्यसमा आधुनिकता भरेको छ ।’ 

कुमःको संगीतले किन आत्मा छुन्छ ? ‘किनभने उनका गीत सुन्दा काठमान्डु र यहाँका प्राचीन सम्पदातिर डुले–घुमेको अनुभव/अनुभूति हुन्छ । तिनमा गल्लीहरुमा भेटिने संगीत भेटिन्छ, जहाँ काठमान्डुको आधुनिकता र प्राचीनताले सँगै यात्रा गर्छ । सुन्नेलाई गीत सुनिरहेको होइन, काठमान्डुका कोर एरियाहरू असन, इन्द्रचोकतिर डुलिहिँडेको अनुभव गराउँछ,’ सुदीप भन्छन् । 

कुमःका गीतहरूले कानमा फूल सिउरेका, फल्चामा पलेटी मारेर हार्मोनियम बजाउँदै भजन गाइरहेका सहरका पुराना मानिसका स्मृति–दंशित सम्झनाहरूमा पुर्‍याउँछन् वा बाल्यकालको ‘मेमोरी’ तिर विचरण गराउँछन्– मानौं बितेका मट्मैला दिन टक्क अडिएका छन् र गीत सुनेर मान्छेहरू हिँडिआएका पैतालाका छाप सम्झिरहेका छन् । 

‘कुमःको म्युजिक स्रोतालाई आफू हुर्के–बढेको मेमोरीमा पुर्‍याउन काफी छ,’ सुदीप भन्छन्, ‘उनको स्वर–शब्दले आँसु निम्त्याउँछ, जहाँ अमूर्त साहित्य छैन, बोलिचालीकै भाषा छ । र, कुमःका हरेक प्लेलिस्टमा विविधता छ, जुन युनिक छ ।’ 

...

अब विश्व संगीतमै गायन, शब्द र संयोजनमा फहर लहर आएको छ । केही ‘नयाँ र  मौलिक विषयवस्तु’ खोजी भइरहेको छ । यसअघि भनिन्थ्यो– गायक/गायिकाको ‘स्वर नै राम्रो हुनुपर्छ’ । 

नेपाली सांगीतिक क्षेत्रमा योगेश्वर अमात्य, सविन राईहरूको बेग्लै पहिचान छ । उनीहरूले संगीत–मापदण्ड र ट्रेन्डभन्दा फरक शैली पछ्याए । त्यही लहरमा उभिएका छन्– कुमः । संगीतकार र संगीत विश्लेषक राजु सिंह भन्छन्, ‘कुमःले सचेत भएर गीत बनाएका छन् ।' उनको विश्लेषण छ– कुमःको भ्वाइसको टोन क्वालिटी बासक्लेपमा छ ।

‘कुमःले संगीतलाई माध्यम बनाएर काठमान्डु उपत्यकाको प्रतिनिधित्व गर्दै नेपाली संगीतलाई उचाइमा पुर्‍याएका छन् । एरेन्जिङ, प्रस्तुतिमा पनि नयाँपन दिए,’ सिंह भन्छन्, ‘उनी हार्मोनिक मेडोलीमा आधारित रहेर गीत कम्पोज गर्छन्, जसले सचेत भएर गीत बनाएका छन् । साहित्य, संस्कृति, भाषा, विचारसँग संगीतको कति नजिकको सम्बन्ध छ, उनले बुझेका छन् । उनको गीतलाई कन्ट्री सङ भन्न सकिन्छ ।’

Kum: Sagar trained from the streets of Bhaktapur

कुमःको नेवा लवजमा छ– ‘ट’ र ‘त’ । शब्द उच्चारणकै कारण उनी ‘भ्वाइस अफ नेपाल’ को प्रतिस्पर्धाबाट बाहिरिनुपरेको थियो । भन्छन्, ‘त्यो फेज पनि छ मेरो जिन्दगीमा । त्यतिबेला मेरै कमजोरी थियो राम्रो नगाउनु, त्यो स्टेजमा जानु नै ठूलो कुरा थियो मेरा लागि । अन्तिममा भइदियो के भने मेरो त्यही टोन सबैले मन पराइदिए ।’ कुमःको लवजमा केहीले अझै ‘समस्या’ देखेका छन्, तर उनले त्यही लवजलाई आफ्नो ‘सिग्नेचर’ बनाएका छन् । ‘त्यो टोन उनलाई सुहाउँछ, जसमा आफ्नोपन भेटिन्छ,’ सिंह भन्छन् ।

...

च्याम्हसिंका सिद्धिसागर प्रजापति नै कुमःसागर हुन्, जो अहिले युवाका लागि ‘ब्रान्ड’ हुन् । उनको बाल्यकाल भक्तपुरका नाचगान हेर्दै र भजन–खलःहरूमा पुग्दै बित्यो । कुमः तेक्वान्दो खेल्थे, १४ वर्षसम्म खुब खेले । पौडीमा उनको विशेष लगाब थियो ।

कुमःकी आमा कृष्णलक्ष्मी प्रजापति खेती–किसानी गर्थिन्, जो खेतीमै बढी समय बिताउँथिन् । उहिले नै घरमा माटोको भाँडो पनि बनाउँथिन्, बेच्थिन् । बाजे बितेपछि भाँडा बनाउने काम बन्द भयो । कृष्णलक्ष्मी अहिले पनि खेततिर गइरहन्छिन्, घरमा ताजा तरकारी ल्याउँछिन् ।

‘आमालाई खेत नजाँदा बिरामी परेजस्तो हुन्छ, हामी चाहिँ खेत गए बिरामी हुन्छौं,’ उनी भन्छन् । आमा उनलाई असाध्यै माया गर्छिन्, बेलाबेला बुबाले कुमःलाई कुटे पनि बचाउँथिन् । ‘आमाले जति यो संसारमा अरू कसले माया गर्ला र ?,’ उनी भन्छन् । उनका बुवा बुद्धिराम प्रजापति पहिले खेतीपातीकै काम गर्थे, अहिले मालपोतमा लेखापढीको काम गर्छन् । ‘बाल्यकालमा हामीले आर्थिक अभाव भोग्यौं,’ कुमः भन्छन् । 

उनका बाजे सिद्धिकुमार प्रजापति कुमःलाई असाध्यै स्नेह गर्थे, जो नातिलाई भजनहरूमा लिएर जान्थे । ‘त्यो भजन साह्रै ध्यानले सुन्थें– कहिलेकाहीं गाउँथे, भजन गाउन भगवानले नै मलाई बरदान दिएको हो कि ? मैले गीत गाउन सिकेकै भजनतिर गएर हो,’ उनी भन्छन्, ‘मैले भजन बाजेहरूबाटै सिकेको हो ।’

बाजे बितेपछि कुमः टोलहरूमा गाउने भजनमा सहभागी हुन थाले । खिं बाजा बजाउन सिकेपछि भजनमा झन् मन गयो । उनी भजनका लती भए । ‘हामीहरू नगए भजन कसले गाउँथ्यो र ? त्यही भएर हामी जान्थ्यौं । भक्तपुरमा भजनसँगै अन्डरग्राउन्ड म्युजिकहरू पनि छ, मलाई दुवैले लोभ्यायो,’ उनले भने । 

बालापनका दिनहरूतिर बरालिँदा कुमः याद गर्छन्– रेडियो–टीभीमा बजिरहेका गीतहरू गाएको, गितार बजाएको । उनी नेपाली ब्यान्डका गीत सुन्थे, विशेष रक ब्यान्डहरू मन पर्थ्यो । 

कुमःको जिन्दगी–ग्राफ र हिँडेको बाटो उबडखाबड छ । बाल्यकालीन ‘फ्ल्यासब्याक’का मेनुमा छन्– तनाव, हैरानी, लफडा, दुःखहरूको लस्कर । ‘मलाई पढ्न पनि मन लाग्दैनथ्यो’, कुमः भन्छन्, ‘सानोमा के–के गल्ती गरियो–गरियो ! केही त भन्नै नमिल्ने खाले छन् । आमाले धेरै गाली गर्नुहुन्थ्यो । स्कुल यति बंक गरें कि यता गेटबाट छिरेर उता गेटबाट भाग्थें । कहिले त घरमै नगइदिने हामी ! पहिले–पहिले हामीले स्कुल बंक गरेर नुहाउन जान सिक्यौं, त्यसपछि तास खेल्न, पुल–स्नोकर खेल्न पनि सिक्यौं । अनि कसरी पास हुनु नि ?’ 

९ कक्षा पढ्दा ‘केटा’ हरूसँग धेरै पटक झगडा पर्‍यो । अन्ततः कुमःले विद्यालय छाड्नुपर्‍यो । त्यसपछि उनी सल्लाघारीमा ‘ओपन स्कुल’ भर्ना भए । त्यहाँ झन् ठूलो ‘ग्याङ–फाइट’ पर्‍यो । ‘त्यहाँ हामी झन् बिग्रियौं, कुलतमा पनि फस्यौं,’ कुमः स्मृतिका गल्लीतिर बरालिन्छन् । त्यसपछि उनलाई बुवाले २ वर्ष घरमै राखे– चार पर्खालभित्र । तर, त्यो घरेलु ‘पर्खाल’ को कैद पनि उनका लागि सिर्जनशील बन्यो । बाहिर निस्किन नपाइने ‘निषेध’ भित्र उनले अनेकन गीत सुने, गितार बजाए र ध्यानस्त भएर लेखिरहे । 

Kum: Sagar trained from the streets of Bhaktapur

‘पर्खाल’ बाट मुक्त भएपछि फेरि ओपन स्कुल पढ्न गए र इखैले पढे, एसएलसीमा विद्यालय टप गरे । कलेज पढ्न काठमाडौं आए, यहाँ मन अडिएन । जुन विद्यालयले उनलाई ‘रेस्ट्रिकेट’ गरेको थियो, त्यही बागेश्वरी कलेजबाट प्लस–टु गरे, ब्याचलर आधामै छाडे ।

कुमःले गाएका गीतहरू सुरुमा कसैले मन पराएनन् । मान्छेहरू उनलाई भन्थे– के ताल हो यो ? के गाउँछौ ? 

के गरेर हिँड्छौ ? ‘मेरो खिल्ली उडाउनेहरू धेरै थिए । पैसा आउने बाटो पनि थिएन, कतैकतै गीत गाउन बोलाउँथे, पैसा दिँदैनथे । तर, गीत कम्पोजमा निरन्तर लागिरहें,’ उनी भन्छन्, ‘मैले म्युजिकको कुनै पनि औपचारिक क्लास लिएको छैन, साथीभाइहरूसँग सिकेको हुँ । म म्युजिक नपढेको म्युजिसिएन हुँ ।’

कुमःको कन्फेसन्स छ– ‘म त्यस्तो जान्नेवाला गायक होइन । गाउन पनि राम्रोसँग आउँदैन । बिस्तारै–बिस्तारै सिकें । गाउँदा, कम्पोज गर्दा कहिले के नमिल्ने/कहिले के ! मैले धेरैजसो गाउने कला अन्दाजमै सिकेको हुँ । मलाई मेरा गीत कहिल्यै कम्प्लिट भएजस्तो लग्दैन । सधैं बनाउन मन लागिरहन्छ । साथीहरूले पूरा भइसक्यो भनेर सम्झाउँछन्, तर मलाई त्यसमै काम गर्न मन लाग्छ । ड्रम अति नै सुनिसकियो । त्यसले कान खाएर हामीले मादललाई प्राथमिकता दिएको ।’

कुमः सोचिबस्छन्– गीत तब सफल हुन्छ, जब यसले श्रोताको कान र मनमा छुन्छ, तर के मैले त्यस्तो मास्टरपिस सिर्जना गरें त ? गायन उनका लागि ‘भगवान्को कृपा’ हो । भन्छन्, ‘सबै भगवानकै कृपा जस्तो लाग्छ । र, सबै भगवान्कै लागि हो ।’

कुमःलाई जिन्दगी 'खै के हो, के हो ?’ लाग्छ । ‘तर, प्रिजेन्ट हेर्ने मान्छे म, पास्ट हेर्दिनँ र बिर्सिन्छु, त्यसो भएपछि जीवन सहज हुन्छ ।’ कुमःका गीतको प्रशंसक छ– ठूलो पंक्ति । तर, कुमः सम्झिबस्छन्– निकै पहिले सुनेको, बेलाबेला अझै सुनिबस्ने नारायणगोपालको गीत ‘यो सम्झिने मन छ, म बिर्सुं कसरी !’ उनले नारायणगोपालको यो गीत रेस्टुरेन्टमा पटक–पटक गाएका छन् । 

आमाको चाहना भने फरक थियो– कुमः बिजनेसम्यान बनोस् । ‘अहिले गायक हुँदा पनि खुसी नै हुनुहुन्छ आमा,’ कुमः भन्छन्, ‘आमाले थाहा पाउनुभयो– भर्खरै हामीले अस्ट्रेलिया, जापान र यूकेमा कन्सर्ट गरेर आयौं । देश/विदेश जता पनि मान्छेहरूले हामीलाई एकदमै धेरै माया गरे ।’ 

Kum: Sagar trained from the streets of Bhaktapur

कुमःको ‘टोनल क्वालिटी’ श्रुतिमधुर छ र उनको संगीतमा उनैको सरलपन झल्किन्छ । गीत र गायकको लामो लस्करमा ‘भिन्न’ उभिने कुमःका गीत कोमल छन्, जसले सम्झाउँछन् भक्तपुरका ओसिला गल्ली, मल्लकालीन नेवाः भजन र मन्दिरहरूमा बजिरहेका घन्टका टिङ–टिङ । त्यसैले उनका श्रोता झंकृत छन्, विशिष्ट र भिन्न गायकीबाट ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully