काठमाडौँ — लामो समयदेखि बस्न नसकेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबारका लागि बोलाइएको छ । नक्सा स्वीकृतिको विषयलाई लिएर मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीच टकराव निम्तिएपछि गत पुसदेखि कार्यपालिका बैठक बस्न सकेको छैन ।
संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने हुन्छ । तर काठमाडौं महानगरमा विवादका कारण नीति तथा कार्यक्रम र बजेट अहिलेसम्म आएको छैन । विवाद सल्ट्याउन बिहीबार मेयर शाह, उपमेयर सुनिता डंगोल र कार्यपालिका सदस्यहरुबीच भएको छलफलमा कार्यपालिका बोलाउने सहमति बनेको छ ।
सोही निष्कर्षअनुसार मेयर शाहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि सिलिङ निर्धारण गर्न स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बिहान ११ बजे र कार्यपालिका बैठक दिउँसो २ बजेका लागि बोलाएका छन् ।
मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले कानुनी प्रक्रियाअनुसार बैठक बोलाएको बताए । ‘बैठकमा प्रमुख प्रशासकीय अधिकृत बस्ने/नबस्ने उहाँको कुरा भयो,’ उनले भने ।
कान्तिपुरसँग कुराकानी गर्दै काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफू बैठकमा बस्ने बताए । ‘बैठकबारेमा जानकारी प्राप्त भएको छ,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाइँमाथि पुरानो बसपार्कस्थित काठमाडौं टावर भवन निर्माणको नक्सा वातावरणीय परीक्षणबिना १२ तलेबाट १९ तले बनाउन प्रक्रिया नपुर्याई स्वीकृत दिएको आरोप छ । यसै विवादका कारण गत पुसदेखि कार्यपालिकाको बैठक बसेको थिएन ।
