काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंकर र व्यवसायी छुट्याउने हो भने तीन वर्षको कुलिङ पिरियड अनिवार्य राखिनुपर्ने बताएकी छन्।
अर्थ समितिमा बिहीबार भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसद गौतमले राज्यले कुनै व्यवस्था गर्दा उद्योग–व्यवसायीको सम्पत्ति क्षति नहुने गरी व्यवहारिक हिसाबले लिनुपर्ने धारणा राखेकी हुन्। बैंकर र व्यवसायी छुट्याउने भए कुलिङ पिरियड अनिवार्य रूपमा तीन वर्ष हुनुपर्ने उनले बताइन्।
उनले भनिन्, 'सबैको चासो बैंकर र व्यवसायी छुट्याउनेमा छ। यदि छुट्याउने हो भने तीन वर्षको समय दिनुपर्छ, जसबाट उद्योगी, व्यवसायीहरूले सम्पत्ति व्यवस्थापन गर्न सकून्।'
सांसद गौतमका अनुसार बैंकर र व्यवसायी छुट्याउँदा स्वार्थको द्वन्द्व अन्त्य हुन सक्ने सम्भावना रहन्छ।
