काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई कारबाही गरेका विषयमा वरिष्ठ नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ।
अनुशासन समितिले गरेको कारबाही विधानविपरीत, एकतर्फीरुपमा भएको भन्दै कोइराला समूहले उक्त कारबाही तत्काल फिर्ता लिन समेत आग्रह गरेको छ। कारबाही फिर्ता नभए त्यसको राजनीतिकरुपमा सशक्त प्रतिरोध गर्ने समेत निर्णय गरेको नेताहरूले बताएका छन्।
गत साता केन्द्रीय समिति बैठकपछि अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बुधबार देशभर विभिन्न जिल्लाका नेताहरूलाई कारबाही गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका थिए।
कारबाहीका विषयमा असन्तुष्टि जनाउँदै नेता कोइरालाले बिहीबार बिहानै आफ्नो समूहको बैठक बोलाएका थिए। बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजाल, अनुशासन समितिका सदस्य संजय गौतम लगायत सहभागी थिए।
'बैठकमा अनुशासन समितिको फाइल अहिले नचलाउने भन्ने सहमति भएको थियो। तर अहिले कारबाहीको निर्णय भएको जानकारी दिइएको छ,' अनुशासन समितिको निर्णयबारे असन्तुष्टि जनाउँदै कोइराला समूहका एक नेताले भने, 'आज हामीले त्यसबारे छलफल गर्यौँ। विधानविपरीत एकतर्फीरुपमा प्रतिरोध साँधेर गरिएको यो कारबाही स्वीकार्य हुन्न।'
अनुशासन समितिले तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ सभापति विष्णुकुमार राई, पर्सा-१ का सभापति अरविन्दुकुमार गुप्ता र कास्कीका निवर्तमान सभापति कृष्ण केसीसहितलाई कारबाही गर्ने निर्णय गरेको थियो। उनीहरूको सदस्यता ३ महिनादेखि १ वर्षसम्म निलम्बन गर्ने अनुशासन समितिको निर्णय छ।
