छुआमापिक हिमाल फेदबाट बाढी आउँदा मुस्ताङका तीन पुलमा क्षति

असार २५, २०८२

घनश्याम खड्का

Three bridges in Mustang were damaged when the flood came from the foot of the Chuamapik mountain

म्याग्दी — मुस्ताङको चीन सीमावर्ती लोमन्थाङ गाउँपालिका–२ छोसेरमा पर्ने लोमन्थाङ–कोरला सडक खण्डको नेचुङ छेउको चुम्जुङ खोला (नाम्डो खोला) मा एक्कासि भीषण बाढी आउँदा तीन वटा पुलमा क्षति पुगेको छ । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार नेपाल–चीन सीमावर्ती मुस्ताङ हिमशृंखलाको छुआमापिक हिमाल फेदबाट बाढी आएको हो । 

लोमन्थाङ–४ को छोन्हुपदेखि माथि रहेको छुआमापिक फेदबाट आएको बाढी चुम्जुङ खोला हुँदै तल छोसेरमा आएर कालीगण्डकी नदीमा मिसिएको छ । बाढीले छोन्हुप क्षेत्रका तीन वटा ‘मोटरेबल’ पुलमा क्षति पुर्‍याएको छ । कालीगण्डकी करिडोरको कोरला नाका जोड्ने पुलसमेत जोखिममा परेको छ । गाउँपालिका अध्यक्ष गुरुङले कुनै हिमताल फुटेर बाढी आएको अनुमान गरे । 

लोमन्थाङ–२ छोसेरका वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङका अनुसार लोमन्थाङ क्षेत्रमा एक सातादेखि पानी परेको छैन । वडाध्यक्ष गुरुङका अनुसार २०४४ मा पनि छोन्हुपदेखि माथि नेपाल–चीन सीमावर्ती मुस्ताङ हिमशृंखलाको छुआमापिक फेदको एउटा हिमताल फुट्दा आएको बाढीले छोसेरनजिक नाम्सुङमा सयौं रोपनी खेतीयोग्य जमिन पुरेको थियो । सोही बाढी कालीगण्डकी नदीमा मिसिँदा म्याग्दीको दाना, तातोपानी, पोखरेबगर, तिप्ल्याङ हुँदै बेनीको कालीपुल बजारसमेत डुबानमा परेको थियो । 

लोमन्थाङ–२ छोसेरस्थित सशस्त्र प्रहरी बेस क्याम्प प्रमुख प्रहरी निरीक्षक विष्णुहरि थापाका अनुसार साँझ ५.३० बजेबाट एक्कासि लेदोसहित आएको बाढी एक घण्टापछि घट्दै सामान्य भएको थियो । एक्कासि नदी धमिलो भएर केहीबेर मात्र बाढी आएको उनले बताए ।

कालीगण्डकीमा जल सतह बढे पनि राति ९ बजेसम्म मुस्ताङ सदरमुकाम जोमसोमसम्म बाढी (गेग्रान) पुगेको छैन । फराकिलो र मैदानी भागमा बग्दै आउने भएकाले बाढीले ल्याएको गेग्रान र ढुंगा छोड्दै आएकाले तल्लो तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको जिल्ला प्रशासन मुस्ताङले जनाएको छ । 

‘लोमन्थाङ छेउको चुम्जुङ खोलामा आएको बाढी कालीगण्डकी नदीमा मिसिए पनि जोमसोम पुगेको छैन । नदीको बहाव घटेको, नदीको सतह र क्षति गर्न सक्ने क्षमता पनि क्रमशः कमजोर भएको देखिन्छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भने, ‘फराकिलो मैदानी क्षेत्रमा बग्ने कालीगण्डकी नदीमा मिसिएको बाढीले ढुंगा छोड्दै आउने भएकाले जोखिम कम भएको हो ।’

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully