शुक्रबारसम्म देशका यी क्षेत्रमा छ आकस्मिक बाढीको सम्भावना

असार २५, २०८२

कान्तिपुर संवाददाता

There is a possibility of flash floods in these parts of the country till Friday

काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही भेगमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज  सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्ग्जा, बागलुङ, पर्वत, गुल्मी, प्यूठान, अर्घाखाँची, रुपन्देही र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान छ । त्यसैगरी शुक्रबार पनि  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान छ ।

अधिकांश जिल्ला भई बहने स-साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully