नवलपरासी — लुम्बिनी प्रदेश कांग्रेसका महामन्त्री विक्रम खनाललाई पार्टीले निष्कासन गरेको छ । पश्चिम नवलपरासीबाट संविधानसभाका पूर्व निर्वाचित सदस्यसमेत रहेका खनाललाई असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले निष्कासन गरेको हो ।
खनालले प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको कांग्रेसले जनाएको छ । समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवा तथा उनी सम्बन्धित प्रदेश र जिल्लालाई समेत बोधार्थ दिएका छन् ।
खनालले गत संसदीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी मागेर निर्वाचन सकिएको ३ वर्षपछि कारबाही गरिएको हो। खनाललाई १ वर्षका लागि पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरिएको ढुंगानाले जानकारी दिएका छन्। पश्चिम नवलपरासीमा प्रभावशाली मानिने खनाल शेखर कोइराला पक्षधर भनेर चिनिने गरेका छन्।
पश्चिम नवलपरासीबाट केन्द्रीय सदस्यद्वय विनोद चौधरी र देवेन्द्र कँडेल एकातिर रहेका छन् भने स्थानीय तहमा बहुमत कार्यकर्तासहित विक्रम खनाल अर्कोतिर बाँडिएका छन् । गत संसदीय निर्वाचनमा कांग्रेसबाट विनोद चौधरी उम्मेदवार बनेपछि जिल्लाका प्रभावशाली मानिने विक्रम खनाल पक्ष असन्तुष्ट थियो । खनाल पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए।
