काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई हटाएका छन् । पार्टी हितविपरीत कार्य गरेको आरोप लागेकाले र उनी त्यस्ता गतिविधिमा संलग्न भएको पाइएपछि लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।
राप्रपा अध्यक्ष लिङ्देनले बुधबार पार्टी प्रवक्ताको जिम्मेवारीबाट लावतीलाई हटाउने निर्णय गरेका हुन् । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार लावतीको केन्द्रीय सदस्य पद भने कायमै रहनेछ । पार्टी हितविपरीत कार्य गरेको पाइएकाले लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको राप्रपाको भनाइ छ ।
लावती पछिल्लो समय पार्टीका गतिविधिमा भन्दा पनि विभिन्न संघसंस्था र अभियानमा सक्रिय रहेको राप्रपाका नेताहरूले जानकारी दिएका छन् । 'पार्टी र नेतृत्व विरुद्धमा भ्रमपूर्ण सामग्री तयार गर्ने, पार्टी हित र एकताविरुद्ध कार्य गरेको निष्कर्षमा नेतृत्व पुगेपछि प्रवक्ताबाट हटाउने निर्णय भएको हो,' राप्रपाका एक नेताले भने, 'उहाँ पार्टीका नेताहरूका बीचमा फाटो ल्याउने गरी सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय अध्यक्ष र पशुपतिशम्शेर जबराबीच फाटो ल्याउने गतिविधि गरिरहनुभएको थियो ।'
लावती पछिल्लो समय राजतन्त्र फर्काउन भनेर गठन गरिएको नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिमा सक्रिय रहेका थिए ।
