भोटेकोशी बाढीमा कति गाडी बगे ?

असार २५, २०८२

कान्तिपुर संवाददाता

How many cars were swept away in the Bhotekoshi flood?

काठमाडौँ — भोटेकोशीमा मंगलबार बिहानै आएको बाढीपछि ३६ घन्टा बितिसक्दा पनि बाढीमा कति ट्रक, कन्टेनर तथा सुख्खा बन्दरगाहमा रहेका विद्युतीय गाडी बगे भन्ने विवरण सार्वजनिक भएको छैन ।

जिल्ला प्रशासनले भन्सार र नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अधिकारी कसैसँग पनि बगेका र पुरिएका गाडीको यकिन विवरण नभएको जानकारी दिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भन्सार यार्डमा पनि १५ देखि २० वटा गाडी पुरिएको अवस्थामा भेटिएको बताएपनि बगेका गाडीको यकिन विवरण संकलन भइनसकेको बताए । सुख्खा बन्दरगाहमा रहेका कति गाडी बगे र सडक छेउछाउमा राखिएका कति गाडी बगे भन्नेदेखि भन्सार पारी चिनियाँ भूभागमा कति गाडी डुबेका छन् भन्ने यकिन विवरण कसैसँग छैन । 

नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले लत्ता कपडा, जुत्ता र झोला बनाउने कपडा रहेको एउटा गाडीसहित ५५ वटा ट्रक तथा कन्टेनर बगेको सूचना आफूहरुले संकलन गरेपनि संख्या योभन्दा बढी हुन सक्ने बताए । उनले भने, 'घटनास्थलमा व्यापारीहरु जान नसकेकाले पनि क–कसको कति गाडी बगे भन्ने विवरण आएको छैन ।' सापकोटाले भन्सार पारी चिनियाँ भूभागमा १५ देखि १६ वटा ट्रक तथा कन्टेनर डुबेको सूचना आफूहरुले पाएको बताउँदै भने 'तीमध्ये एउटा लत्ता कपडा भएको र अरु सबै स्याउ र लसुन भएको गाडी रहेको' बताए । 

नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले संकलन गरेको विवरण अनुसार जम्मा बगेका गाडीमध्ये २७ वटा गाडीमा स्याउ ल्याइएको थियो । उनले कतिपय गाडीधनीले आफ्नो गाडी कहाँ छ भन्ने विवरण पनि पाउन नसकेको बताउँदै विद्युत् आपूर्तिसमेत प्रभावित भएकाले रसुवागढीमा अहिले टेलीफोन सेवा पूरै अवरुद्ध नभएपनि प्रभावित भएको छ । यसले पनि त्यहाँ भएको क्षतिको यकिन विवरण व्यापारी र ट्रक कन्टेनर धनीहरुले प्राप्त गर्न सकिरहेका छैनन् । प्रमुख जिल्ला अधिकारी पौडेलले चिनियाँ सीमबाट धेरथोर सम्पर्कको कामहरु गरिरहेको बताउँदै भने, 'टेलिफोन सेवा सुचारु गर्न र विद्युत् आपूर्ति सुचारु गर्न पनि हामीले प्रयास थालेको छौं ।'  

कान्तिपुर संवाददाता

Link copied successfully