काठमाडौँ — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा दुरुपयोग गर्ने पार्टीका कार्यकर्ताले अरुलाई नैतिकताको प्रश्न नउठाउन सुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा गएका नेपाली नफर्किएको भन्दै रास्वपाले भिजिट भिसा दुरुपयोगको छानबिन मागिरहँदा गृहमन्त्री लेखकले प्रतिप्रश्न गरेका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री लेखकले रास्वपाका सभापति रवि लामिछानेले भिजिट भिसा दुरुपयोग गरी अमेरिकाको नागरिकता लिएको स्मरण गराउँदै अहिले नैतिकताको प्रवेश नउठाउन भनेका हुन् ।
रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रममा समेत केही नेपाली गएर नफर्किएको भन्ने समाचार आएको भन्दै भिजिट भिसाको छानबिन गर्न माग गरेकी थिइन् । रास्वपाको उक्त भनाइको विरोध गर्दै मन्त्री लेखकले लामिछानेको प्रसंग उल्लेख गर्दै प्रतिप्रश्न गरेका हुन् ।
गृहमन्त्री लेखकको भनाइ थियो-
प्रधानमन्त्रीज्यू मित्रराष्ट्र स्पेनको भ्रमणमा जानुभयो । सम्माननीय प्रधानमन्त्रीज्युसँग गएका मानिसहरू उतै बसे भन्ने कुरा उठिरहेको छ । हामीले पनि कुनैपनि विषयको न्यूनतम जानकारी र ज्ञान राख्नुपर्छ । कमसेकम सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयलाई मर्यादित ढंगले प्रस्तुत गर्दा राम्रो हुन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्युले विदेशको औपचारिक भ्रमण गर्दा उहाँको प्रतिनिधि मण्डलमा जाने मानिसहरूको नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जान्छ । को-को मानिस सम्माननीय प्रधानमन्त्रीजीसँग विदेश जानुभएको भन्नेकुरा सार्वजनिक हुन्छ । को-को जानुभएको थियो, त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो । होइन भने यस्ता कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि पुगिँदैन । जो साथीहरूले कुरा उठाइरहनुभएको छ, मैले एउटा करा सुनेको छु, सुनेको कुरा जान्ने साथीहरूलाई थाहा होला र मलाई पनि जानकारी छ । माननीय रवि लामिछानेजी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो । उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो की होइन ? होइन भने के भिसामा जानुभएको हो ? त्यो जानकारी गराइदिनुहोला । भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन । त्यो भिजिट भिसाको दुरुपयोग हो की होइन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ की हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने की आफूबाट प्रारम्भ गर्ने ? यति कुरा मैले आजसम्म भनेको थिइनँ । तर साथीहरूले अलि गर्न नहुनेतिर बढी लाग्नुभएको छ ।
