काठमाडौँ — भोटेकोशी बाढी : ५७ जनाको उद्धार, २० अझै बेपत्ता, २ सय मेगावाट विद्युत् उत्पादन बन्द, एक महिनामै भित्रियो १ खर्ब ७६ अर्ब रेमिट्यान्स, ‘कुलिङ अफ पिरियड’मा छलछामको संसदीय समितिले थाल्यो छानबिन, अमेरिकाको टेक्सासमा बाढी : मृतकको संख्या एक सय नाघ्योदेखि प्रतिकूल मौसम र कमजोर पूर्वाधारका कारण १०औँ राष्ट्रिय खेलकुद स्थगितसम्मका खबर आज चर्चामा रहे ।
००००
रसुवाको भोटेकोशी नदीमा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । बाढी पहिरोमा परी २० जना बेपत्ता भएका छन् । बाढीले झन्डै २ सय मेगावाट विद्युत् उत्पादन पनि बन्द भएको छ ।
००००
मुलुकमा एक महिनामै रेमिट्यान्स डेढ खर्बभन्दा बढी भित्रिएको छ। २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।
००००
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा गठित संसदीय छानबिन समितिको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरमा समितिको बैठक सुरु भएको हो । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न सोमबार ७ सदस्यीय विशेष समिति गठन भएको थियो ।
००००
अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी मृत्यु हुनेहरुको संख्या एक सय नाघेको छ । बाढीका कारण सबैभन्दा धेरै क्षति केर काउन्टीमा पुगेको छ । एबीसी न्युजका अनुसार केरमा मात्रै बाढीबाट ८४ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केरमा विपद्को स्थिति निम्तिएको भन्दै आपतकालीन व्यवस्थापनमा काम गर्ने संघीय एजेन्सीलाई परिचालित गरेका छन् ।
००००
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएको कारण १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताए ।
