काठमाडौँ — संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा गठित संसदीय छानबिन समितिको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरमा समितिको बैठक सुरु भएको हो ।
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न सोमबार ७ सदस्यीय विशेष समिति गठन भएको थियो । समितिको संयोजकमा कांग्रेस सांसद जीवन परियार रहेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा उक्त समितिको घोषणा गरेका हुन । समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ । यो समितिलाई ४ बुँदे कार्यादेश दिइएको छ ।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेस र एमालेबाट २/२ तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य रहेका छन् ।
समिति सदस्यमा सुशीला थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।
