प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमको भनाइ संसद्को रेकर्डबाट हटाउन एमाले मुख्य सचेतक बर्तौलाको माग

असार २४, २०८२

कान्तिपुर संवाददाता

UML chief whip Bertaula's demand to remove RSVP MP Gautam's statement about Prime Minister's visit to Spain from the records of Parliament

काठमाडौँ — नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसद्मा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरू उतै बसेको भन्दै सांसदहरूले अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका हुन्।

संसद्को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको समाचारहरूमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराएकी थिइन्।

सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरू संसद्मा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। उनले उक्त कुरा संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

बर्तौलाले भने, ‘केही माननीय सदस्यहरूले अत्यन्तै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरू संसद्मा राखेका छन्। बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरूले दुरुपयोग गरेका छन्। स्पेनको कार्यक्रममा सहभागी भइरहँदा केही मानिसहरू स्पेनमै बसेका छन् वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर प्रधानमन्त्रीलाई लक्षित अभिव्यक्तिहरू गरिमामय संसद्मार्फत दिइयो। यस्ता विषयहरू निराधार, भ्रमपूर्ण र कपोलकल्पित छन्। यस्तो गरिमामय संसदबाट जिम्मेवार सांसदहरूले यस्ता तथ्यहीन कुरा गर्नु अनुचित हो। यस्ता विषयहरू संसद्को रेकर्डबाट हटाइनुपर्छ। को मानिसहरू प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन्, ती कुरा बोल्ने माननीय सदस्यहरूले संसद्मार्फत जानकारी दिनुपर्छ। म यसको चुनौती दिन चाहन्छु।’

मुख्य सचेतक बर्तौलाले बोल्न पाउने अधिकारको दुरुपयोग नगर्न चेतावनी पनि दिएका छन्।

कान्तिपुर

Link copied successfully