नागरिक उन्मुक्ति विपक्षमा बसे पनि राज्यमन्त्री चौधरीले दिएनन् राजीनामा 

पार्टीले राजीनामा दिन सचेत गराएको छ : अध्यक्ष श्रेष्ठ

असार २४, २०८२

कान्तिपुर संवाददाता

State Minister Choudhary did not resign even though he was in opposition to civil liberties

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिए पनि उन्मुक्तिका पर्यटन राज्यमन्त्रीले मंगलबार बेलुकासम्म राजीनामा दिएका छैनन् । उन्मुक्तिको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राज्यमन्त्री अरुणकुमार चौधरीलाई राजीनामा दिन निर्देशन दिइसकेको छ ।

आइतबार उन्मुक्तिले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराई संसद‍्को बैठकमा विपक्ष बेन्चमा बस्दै आएको छ । उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्री चौधरीलाई सोमबार पनि राजीनामा दिन निर्देशन दिएको जानकारी दिँदै ढिला गर्नुको कारण थाहा नभएको बताइन् ।

‘पार्टीले राज्यमन्त्री अरुणजीलाई राजीनामा दिन मंगलबार पनि सचेत गराएको छ,’ उनले भनिन्, ‘राजीनामा नदिनुको कारण थाहा भएन ।’ उन्मुक्ति संरक्षक रेशम चौधरीले पनि राज्यमन्त्री अरुणलाई राजीनामा दिन निर्देशन गरिसकेको उनले बताइन् । ‘पार्टी सत्तापक्षबाट प्रतिपक्षको बेन्चमा बसिसकेको छ,’ उनले भनिन्, ‘राज्यमन्त्रीले राजीनामा दिने विषयमा विवाद छैन ।’

उन्मुक्ति संरक्षक रेशमले सोमबार ओलीसँग भेट गरेपछि राज्यमन्त्री अरुणले राजीनामा दिन ढिलाइ गरेको अनुमान छ । रेशमले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसँग पनि भेटवार्ता गरेका थिए । शाहले उन्मुक्तिका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उन्मुक्ति सरकारबाट बाहिरिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully