काठमाडौँ — हातमा एक्स-रे र औषधिको झोला बोकेर बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको गेटमा यताउती गरिरहेकी थिइन, जनकपुरकी राम कुमारी । उनीसँगै थिए उनका श्रीमान् शिव शंकर । सोमबार नै सबै जाँच सकेर घर फर्किने सुरमा रहेकी उनी दुई दिनदेखि काठमाडौंमा अलपत्र छिन् । किनकि उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकहरु आन्दोलित छन् र सोमबारदेखि उनीहरुले आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेका छन् । यसैका मारमा परेका छन्, रामकुमारीजस्ता नागरिकहरु ।
केही वर्षअघि रामकुमारीको मुटुमा समस्यो देखा परेको थियो । जाँचका क्रममा डाक्टरहरुले उनलाई भनेका थिए, मुटुमा प्वाल परेको छ । अप्रेसन गर्नु । त्यसपछि उनी थप जाँच गर्नका निम्ति आइतबार काठमाडौं आइपुगेकी थिइन् । सोमबार नै सबै जाँच सकेर घर फर्किने उनको योजना चिकित्सकहरुको आन्दोलनका कारण अलपत्र पर्यो ।
कान्तिपुरसँग कुरा गर्दै उनले भनिन्, 'हामी त जाँच गरेर फर्की हाल्ने सोचले आएको थियौ । हामीलाई के थाहा यस्तो हुन्छ भन्ने । अस्पताल आयो बन्द छ भन्यो अब के गर्ने ?' रामकुमारीले कहिले अस्पताल खुल्ने हो र यो के कारणले भएको हो भन्नेबारे पनि आफूलाई थाह नभएको बताइन् । भनिन्, 'कति दुःख गरेर र समय मिलाएर हामी आएको हो । यहा फेरि के-के आन्दोलन भन्छन् । बहुतै दुःख भयो ।’
रामकुमारी जस्तै छटपटीमा भेटिइन्, नवलपुर घर भएकी पार्वती देवी । मुटु रोगी पार्वती देवी सोमबार बेलुका श्रीमान्को साथ लागेर फलोअपमा लागि काठमाडौं आइपुगेकी थिइन् । तर काठमाडौं आएपछि मात्रै उनले डाक्टरहरु आन्दोलनमा भएको थाह पाइन् । काठमाडौं आएर त्यही दिन उपचार सकेर राति नै फर्किने सोच बनाएकी उनी यतिबेला अलमलमा छिन् । भनिन्, 'अस्पताल बन्द छ भन्ने थाह पाएको भए यहाँ आउने थिएनौं । अब यहाँ होटलमा बस्ने पैसा पनि छैन् । के पो गर्ने हो ।'
रामकुमारी र पार्वतीजस्ता धेरै बिरामीहरु अस्पतालको परिसरमा छटपटीमा थिए । के कारणले आन्दोलन भएको हो र यो कहिले सकिन्छ भन्नेबारे पनि उनीहरु अलमलमा थिए । यस्तै अलमलमा थिए वीरगन्जबाट काठमाडौं आइपुगेका गमहीरा पासवान । डाक्टरले भनेअनुसारको ल्याव परीक्षण गरिसकेपछि त्यसको रिपोर्ट डाक्टरलाई देखाउनुपर्ने थियो । तर आन्दोलनका कारण उनले डाक्टर भेटन सकिनन् । भनिन्, 'हिजोको दिन पनि डाक्टरलाई कुरेर गयो । आजको दिन पनि त्यसै गरी गयो । भोलि पनि बन्द भयो भने हामी बिजोगमा परिहाल्छौं ।' यतिबेला के गर्ने र के नगर्नेको अलमलमा आफू परेको उनले सुनाइन् ।
अचानक सास फेर्न गाह्रो हुने र मुटु दुख्ने भएपछि हेटौंडाबाट श्रीमान् र सानो छोरा साथमा लिएर काठमाडौं आइपुगेकी ललिता सुहेल पनि गंगालाल अस्पताल परिसरमै भेटिइन् । शनिबार काठमाडौं आइपुगेकी उनी दुई दिन होटलमा बसे पनि काम नभएकाले छटपटीमा थिइन् । होटलमा बस्दा ल्याएको सबै पैसा सकिएपछि उनी फेरि घर फर्किने सुरमा रहेकी उनले भनिन्, 'हातमा रिपोर्ट छ तर हेरिदिने डाक्टर अस्पतालमा छैनन् ।'
त्रिवि शिक्षण अस्पताल परिसरमा पनि चिकित्सकहरुको आन्दोलनका कारण अलपत्र परेका धेरै बिरामीहरु भेटिए । उपचारको आशमा बसेका तर कहिले उपचार सुरु हुन्छ भनेर थाह नपाएकाहरु बेचैन देखिन्थे । वकील मुखिया अस्पतालको पेटीमा टुसुक्क बसेका थिए । उनीसँग भएको कालो झोलामा कपडा र निलो रंगको प्लास्टिकमा अस्पतालका कागजपत्रहरु थिए । शरीरको दाहिने भाग गर्धनदेखि पैतलासम्म पोल्ने, झमझमाउने भएपछि उनी उपचारको आशमा काठमाडौं आएका थिए ।
मेलापातको सारा काम छाडेर काठमाडौं हान्निएका उनी चिकित्कसहरुको आन्दोलनका कारण उपचारको काम नसकिएकाले चिन्तामा देखिन्थे । खर्चको अभावमा अस्पतालकै पेटीमा रात बिताएका उनले सोमबार रिपोर्ट देखाउने पालो पाएको तर डाक्टर भेटन नसकेर काम नबनेको सुनाए । भने, 'आन्दोलन हुन्छ भन्ने थाहा भएको भए बरु पीडा सहेर घरमै बस्थे । उता रोपाइँको काम सुरु हुने बेला भइसक्यो । यता मेरो उपचार कहिले सकिन्छ पत्तो छैन ।'
गोर्खाबाट उपचारका निम्ति त्रिवि शिक्षण अस्पताल आइपुगेकी बिमला गुरुङले पनि अस्पताल आएपछि मात्रै डाक्टरहरुको आन्दोलनबारे थाह पाइन् । भनिन्, 'आजै फर्किने सोचमा आएको । तर के गर्ने भन्ने अप्ठ्यारोमा फसे ।'
नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलित बनेका चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै तीन फरकफरक मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएसँगै उनीहरु आन्दोलित छन् । जसको मारमा रामकुमारी, पार्वती देवी, गमहीरा, ललिता, वकिल र बिमला जस्ता सर्वसाधरणहरुले भोगिरहेका थिए ।
