‘अस्पताल नै बन्द छ, कहाँ जानु ?’

असार २४, २०८२

आरती पौडेल

”The hospital is closed, where to go?”

काठमाडौँ — सोमबार मध्याह्न १२ बजे हतारहतार राष्ट्रिय ट्रमा सेन्टरको काउन्टर पुगिन्, थानकोटकी लक्ष्मी श्रेष्ठ । ढाडको समस्या भएकाले उपचार गराउन आएकी उनले अस्पताल आएपछि मात्र ओपीडी सेवा बन्द रहेको थाहा पाइन् । ‘यो त एकदमै नराम्रो भयो नि । अस्पतालको सेवा यसरी ठप्प पारेर हुन्छ त ?’ उनले प्रश्न गरिन्, ‘म त नजिकैबाट आएँ तर टाढाबाट आउने बिरामीलाई कति गाह्रो भयो होला ?’

ओखलढुंगाबाट आएका कुलबहादुर सार्की वीर अस्पताल नजिकैको चमेनागृहमा चुपचाप बसिरहेका थिए । ओपीडी बन्द रहेको थाहा पाएपछि उनी अन्योलमा थिए । ‘शुक्रबार गाडी चढेर आएँ,’ मलिन अनुहार बनाउँदै उनले भने, ‘मलाई जाँच्ने डाक्टर बिहीबार आउने भन्नुभएको छ । मलाई सुगर, प्रेसर, पत्थरीसँगै मुटुमा पनि समस्या छ ।’ अस्पताल खुलुन्जेलसम्म कहाँ बस्ने, के खाने चिन्तामा उनी छन् । भन्छन्, ‘अस्पताल नै बन्द छ, कहाँ जानु ।’ उनी सरकारी अस्पतालमा कम शुल्कमा उपचार हुने अपेक्षासहित काठमाडौं आएका हुन् । 

फलोअपका लागि न्युरोडका करेन्द्र शाह बिहानै वीर अस्पताल आइपुगेका थिए । तर, उनले चिकित्सकसँग भेट्न पाएनन् । ‘दाँतको सर्जरी गरेको थिएँ, टाँका खोल्नुपर्ने भएकाले आएको, दुःख पाइयो,’ शाहले भने, ‘अस्पताल नै बन्द रहेछ । नौ महिनादेखि यहींकै चिकित्सकबाट उपचार गर्दै आएको छु, अन्यत्र जाने कुरा पनि भएन ।’ 

नेपाल चिकित्सक संघको आह्वानमा मुलुकभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द हुँदा त्यसको सास्ती धादिङकी प्राश्ना कँडेलले पनि भोग्नुपर्‍यो । उनको पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने छ । ‘सुगर देखिएपछि चिकित्सकले रिपोर्टसहित फलोअपका लागि बोलाउनुभएको थियो,’ उनले भनिन्, ‘लामो समयदेखि उपचारको पर्खाइमा रहेका हामीजस्ता बिरामीलाई आन्दोलनले निकै मर्का परेको छ ।’

अस्पताल परिसरमा भेटिएका अरू बिरामी पनि आन्दोलनको असर अस्पताल र बिरामीलाई पर्न नहुने बताउँछन् । सरकारले चिकित्सकको माग पूरा गरेर हुन्छ कि बिरामीलाई विकल्प दिएर हुन्छ, सेवा सञ्चालन गर्नुपर्ने सर्लाहीका वकिल मुखिया बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालको पेटीमा कालो झोलामा कपडा र नीलो रंगको प्लास्टिकमा अस्पतालको डकुमेन्ट लिएर बसिरहेका मुखिया शरीरको दाहिने भाग गर्धनदेखि पैतालासम्म पोल्ने, झमझमाउने समस्या बोकेर काठमाडौं आएका थिए । ‘गाउँको अस्पतालमा देखाएर पनि सुधार नभएपछि असारको बेला खेत रोपाइँ छाडेर काठमाडौं आएको थिएँ,’ आमालाई साथमा लिएर आएका मुखियाले भने, ‘दुई दिनदेखि उपचारमा छु । आज चिकित्सकलाई देखाएर गाउँ फर्कने सोच थियो । तर अस्पताल नै बन्द रहेछ । डाक्टरको सल्लाहबिना कसरी जाउँ ?’ 

निमोनिया र पाठेघरको समस्याको औषधि सकिएपछि फलोअपमा आएकी गोर्खाकी विमला गुरुङ पनि अलमलमा थिइन् । हातमा अस्पतालको डकुमेन्ट लिएर अस्पताल भित्र–बाहिर ओहोरदोहोर गरिरहेकी गुरुङले भनिन्, ‘मलाई त आन्दोलन के कारणले भएको भन्ने पनि थाहा छैन । डाक्टरलाई भेटेर थप औषधि लिन पाएमात्र पनि फर्किने थिएँ । अस्पताल बन्द हुन्छ भनेको भए त्यति टाढाको बाटो आउने नै थिइनँ ।’

– प्रशिक्षार्थी

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully