काठमाडौँ — आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ । चिकित्सक आन्दोलनका समस्या समाधान सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ वार्ता सुरु भएको हो ।
उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै तीन फरक-फरक मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएसँगै नेपाल चिकित्सक संघको आह्वानमा उनीहरुले आन्दोलन गरिरहेका छन् । आन्दोलित बनेका चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।
सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलमा लगेर प्रमाणपत्रसमेत बुझाउने चेतावनी दिएका छन् ।
गत चैतमा उपभोक्ता अदालत गठन भएयता उपभोक्ता हकहितसम्बन्धी १५ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ५ मुद्दा स्वास्थ्योपचारसँग सम्बन्धित छन् । मेडिकल काउन्सिलले उपचारसम्बन्धी विवाद निरूपण गर्ने भएकाले उपभोक्ता संरक्षण ऐन संशोधन हुनुपर्ने माग नेपाल चिकित्सक संघको छ ।
