रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न एकीकृत समाजवादीको निर्देशन

असार २४, २०८२

कान्तिपुर संवाददाता

Integrated Samajwadi directed Ramkumari Jhankri to submit a written self-criticism within seven days

काठमाडौँ — पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा दायर भएपछि आलोचना गरेकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई लिखित आत्मालोचना गर्न ‍नेकपा एकीकृत समाजवादीले निर्देशन दिएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले उनको अभिव्यक्तिले पार्टीलाई नकारात्मक असर गरेको उल्लेख गर्दै उनलाई सात दिनभित्र आत्मालोचना गर्न निर्देशन दिएको उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

‘रामकुमारीजीको अभिव्यक्तिले पार्टीमा नकारात्म्क असर गरेकाले आगामी दिनमा त्यस्ता गतिविधि नगर्न सचेत गराएको छ,’ उनले भने, ‘सात दिनभित्र लिखित आत्मालोचना गर्न निर्देशन दिएको छ ।’

गत साता अध्यक्ष नेपालमाथि मुद्दा दायर गरिएको विषयमा नैतिक प्रश्न उठाएपछि झाँक्रीलाई स्पष्टीकरण सोधेको थियो ।

नेपाल प्रधानमन्त्री भएका बेला काभ्रेको पतञ्जली जग्गाको हदबन्दी हटाउने निर्णय गरी जग्गा हिनामिना गरेको विषयमा मुद्दा दायर भएपछि असार १५ मा बुटवलको एक कार्यक्रममा झाँकीले अध्यक्ष नेपालको काँध थाप्न नसकिने बताएकी थिइन् । उनले अध्यक्ष नेपाललाई बोकेर हिँड्न नसक्ने बताएकी थिइन् ।

‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनको भनाइ थियो, ‘अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरुबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।’

यसअघि झाँक्रीले अध्यक्ष नेपालमाथि लागेको मुद्दा व्यक्तिगत भएको तर्क गरेकी छन् ।

रुपेन्देहीमा कानुनी र संवैधानिक हिसाबले पार्टी अध्यक्षमाथि संकट आएकाले आइतबार ‘अर्ली महाधिवेशन’ गर्नुपर्ने उनले माग गरेकी थिइन् । उनले सार्वजकि रुपमा आलोचना गरेपछि महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरी अध्यक्ष नेपाललाई मुद्दा लगाएको विषयमा नबोल्न निर्देशन दिएका थिए ।

कान्तिपुर

Link copied successfully