'अर्ली महाधिवेशन गरौं, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन'
काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा संकट आएकाले पुनर्गठन गर्नुपर्ने बताएकी छन् । कानुनी र संवैधानिक हिसाबले पार्टी अध्यक्षमाथि संकट आएकाले 'अर्ली महाधिवेशन' गर्नुपर्नेमा उनले जोड दिइन् । नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनेकी छिन्, 'अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।' नेकपा (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट ३५ लाख धरौटी छुटेको पृष्ठभूमिमा झाँक्रीको यस्तो भनाइ आएको हो ।
नेपाल प्रधानमन्त्री भएका बखत मन्त्रिपरिषद् निर्णयबाट पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा किन्न दिएको र पछि त्यही जग्गा कानुनविपरीत बेचबिखन गर्न अनुमति दिएर हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरुद्ध २२ जेठमा मुद्दा दायर गरेको थियो ।
झाँक्रीले पार्टी नेतृत्व संकटमा परेको बताउँदै भनेकी छन्, 'अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरुबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।'
