Live

भोटेकोशीमा आकस्मिक बाढीको विध्वंस [Live Update]

मंगलबार बिहानै तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि सुरु भएको विपत्तिले ठूलो क्षति पुर्‍याएको छ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो । सुक्खा बन्दरगाहमा रहेका १०० भन्दा बढी नयाँ विद्युतीय गाडी (ईभी) हरू बगाएको अनुमान गरिएको छ भने भन्सार यार्डमा राखिएका करिब २५ वटा कन्टेनरहरू पनि बगाएको छ।

असार २४, २०८२

कान्तिपुर संवाददाता

Flash flood devastation in Bhotekoshi [Live Update]

21 Updates

(12:02 PM)

हिमताल विस्फोटबाटै रसुवामा बाढी

 जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। 'रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ। हिमनदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ,' उनले भने, 'उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले  उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ।' पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उनको भनाइ छ । 'बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ,' उनले भने। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले  चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् । 

 

Flooding in Rasuwa from Himtal explosion

(11:00 AM)

सडक बगाएपछि लिङलिङ भीरमा जोखिम मोलेर यात्रा

- विमल खतिवडा र अंगल ढकालको स्थलगत रिपोर्टिङ

भोटेकोशीमा मंगलबार आएको बाढीका कारण रसुवाको स्याफ्रुवेँसी-रसुवागढी सडक खण्ड क्षत्‌विक्षत् बनेको छ। बाढीले लिङ्लिङ भीरमा पुरै सडक बगाएका कारण पैदलयात्रु हिँड्ने बाटोसमेत छैन। यहाँ यात्रुहरू जोखिम मोलेर यात्रा गरिरहेका छन्। सडक बगाएका कारण हिँड्ने बाटोसमेत नरहेपछि नेपाली सेना र नेपाल प्रहरीले डोरी टाँगेर वारपार गर्ने बाटो बनाएका छन्। तर यो कम जोखिमपूर्ण छैन। अहिले प्रहरीको सहायतामा यहाँ मानिसहरू डोरी समाएर जोखिम मोलेरै वारपार गरिरहेका छन्। यो सडक खण्डको दुई ठाउँमा यसैगरी बाढीले पुरै सडक बगाएको छ। अन्यत्र भने ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ। सडक आसपासका विद्युतका पोल ढलेका छन् भने कतै भाँचिएका छन्।

Risky travel to Lingling Bhir after the road was washed away

(10:46 AM)

टिमुरे-रसुवागढी क्षेत्रमा अत्यावश्यक सेवा ठप्प, तीन दिनदेखि सञ्चार सम्पर्कविहीन

- विमल खतिवडा र अंगल ढकालको स्थलगत रिपोर्टिङ

भोटेकोशीमा मंगलबार आएको बाढीका कारण रसुवाको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ। बाढीका कारण स्याफ्रुबेँसी-रसुवागढी सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने विद्युत, इन्टरनेट र टेलिफोन लगायत अत्यावश्यक सेवा समेत ठप्प बनेको छ। स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक क्षत्‌विक्षत् भएको छ। स्याफ्रुबेँसीदेखि रसुवागढी जाने सडक अवरुद्ध छ । मानिसहरू यहाँदेखि करिब साढे चार घन्टाको बाटो भएर पैदलयात्रा गरिरहेका छन्। बाढीपछि यहाँका व्यापारीहरू हेलिकोप्टर लिएर पुगेका छन् भने कतिपय घण्टौँ लगाएर पैदल हिँडेर पुगिरहेका छन्। बाढीले रसुवागढी जलविद्युत आयोजनाको मुख्य ड्याममा ठूलो क्षति पुर्‍याएको छ भने रसुवागढी भन्सार यार्डमा पार्किङ गरेर भन्सार जाँचपासको क्रममा रहेका ३०-४० वटा मालबहाक गाडीहरू बगाएको अनुमान गरिएको भन्सार कार्यालयका नासु चण्डीराज गेलालले बताए। त्यस्तै यहाँ पार्किङ गरेर राखेका अन्य १०० वटाभन्दा बढी विद्युतीय गाडीहरू पनि बगाएको उनले बताए। रसुवागढी जलविद्युत आयोजनाको आवास क्षेत्र पनि बगाएको छ भने यहाँ पार्किङ गरिएका ८ वटा हाइलक्स गाडी पनि पहिरोले पुरेको छ। बाढीले ठुलो क्षति र अत्यावश्यक सेवा अवरुद्ध बनाएपनि यहाँ सरकारीस्तरबाट भने कुनै पहल भएको छैन । क्षतिको विवरण संकलन र मर्मत सम्भार गरी सेवा सञ्चालनका विषयमा समेत कुनै प्रयास भएको छैन । बाढीले यहाँको जनजीवन अस्तव्यस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामीछिरिङ तामाङले बताए। 'मंगलबार बिहान राति सवा ३ बजे अकस्मात् बाढी आयो। हामी त्यहीबेला देखि उद्धारमा खटिएका छौँ,' उनले भने, 'यहाँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति छ। तर विपद्को बेला सरकारले जुन पहलकदमी लिइदिनुपर्ने हो, त्यो हुन सकेन।'

Essential services stopped in Timure-Rasuwagadhi area, without communication for three days
फाइल तस्बिर

(08:16 AM)

रसुवाको आकस्मिक बाढीको कारण पत्ता लागेन, भूउपग्रह अध्ययनलाई मौसमले बाधा

तिब्बतको ल्हेन्दे खोलामा मंगलबार आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि भएको विध्वंसले ठूलो जनधनको क्षति भएको छ । तर बाढीको कारण यकिन हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागले चीन तथा नेपाल सीमाका उच्च हिमाली क्षेत्रमा बादल लागिरहेका कारण भूउपग्रहको सहायताबाट विश्लेषण गर्न खोजे पनि सम्भव नभएको बताएको छ । भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएपछि त्यसको कारण खोज्न विभाग लागिपरेको हो । सोमबारदेखि मंगलबारसम्म २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको छ । ‘भारी वर्षाले बाढी आएको होइन, तर कारण के हो अध्ययन गरिरहेका छौं,’ विभागका बाढीविद् विनोद पराजुली भन्छन्, ‘तत्काल बाढी गएकै स्थानमा गएर अध्ययन गर्न सम्भव छैन, भूउपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो, तर त्यस क्षेत्रमा बादल लागेकाले समस्या भएको छ ।’ चीन तथा नेपालको भूभागमा रहेको कुनै हिमताल फुटेको हुन सक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुन सक्ने उनको अनुमान छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको बताएको छ । इसिमोडले पनि ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीको कारण वर्षा नभएको जनाएको छ ।
Cause of Rasuwa flash floods not identified, satellite survey hampered by weather

(07:33 PM)

भोटेकोशी बाढीमा कति गाडी बगे ?

३६ घन्टा बितिसक्दा पनि भोटेकोशीको बाढीमा कति ट्रक, कन्टेनर तथा सुख्खा बन्दरगाहमा रहेका विद्युतीय गाडी बगे भन्ने विवरण सार्वजनिक भएको छैन ।जिल्ला प्रशासनले भन्सार र नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अधिकारी कसैसँग पनि बगेका र पुरिएका गाडीको यकिन विवरण नभएको बताएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भन्सार यार्डमा पनि १५ देखि २० वटा गाडी पुरिएको अवस्थामा भेटिएको बताएपनि बगेका गाडीको यकिन विवरण संकलन भइनसकेको बताए ।नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले लत्ता कपडा, जुत्ता र झोला बनाउने कपडा रहेको एउटा गाडीसहित ५५ वटा ट्रक तथा कन्टेनर बगेको सूचना आफूहरुले संकलन गरेपनि संख्या योभन्दा बढी हुन सक्ने बताए ।
How many cars were swept away in the Bhotekoshi flood?

(05:50 PM)

अझै पत्ता लागेन भोटेकोशी बाढीको कारण

भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू–उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको छ ।विभागका अनुसार नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको हो । विभागले सोमबारदेखि मंगलबार २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको बताएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको जनाएको छ ।
The cause of the Bhotekoshi flood is not yet known

(02:54 PM)

भोटेकोशी बाढीले बगाएका २२ ट्रक तथा कन्टेनरमध्ये धेरैमा लत्ता कपडा र जुत्ता

भोटेकोशी बाढीमा बगेका ट्रक तथा कन्टेनरमध्ये धेरैजसोमा कपडा र खाध्य सामाग्री रहेको पाइएको छ । नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बाढीले बगाएका २२ ट्रक तथा कन्टेनरमध्ये धेरैमा लत्ता कपडा र जुत्ता रहेको र एउटा गाडीमा झोला बनाउने कपडा रहेको बताए ।उनले चिनियाँ भूमीमा खोला थुनिएर जमेको पानीमा १५ देखि १६ वटा ट्रक तथा कन्टेनर डुबेको सुचना आफुहरुले पाएको बताए । भने, 'ति मध्ये एउटा लत्ता कपडा भएको र अरु सबै स्याउ र लसुन भएको गाडी छ ।' ट्रक तथा कन्टेनर व्यवसायीहरु हेलीकप्टर लिएर घटनास्थलमा जाने प्रयास गरेपनि गृहमन्त्रालयबाट सहयोग नभएको बताउँदै उनले क्षतिको यकिन विवरण सरकारी पक्ष र व्यापारीबाट पाउन नसकेको बताए । उनले क-कसको गाडी बगेको हो भन्ने विवरण संकलनमै समस्या भएको बताए ।

(02:32 PM)

रसुवागढी भन्सारको बन्दरगाहमा १५-२० वटा गाडीहरू पुरिएको अवस्थामा फेला

भोटेकोशी बाढीले अहिलेसम्म कति गाडीहरु बगाए भन्ने पुष्टी नभएपनि रसुवागढी भन्सारको सुख्खा बन्दरगाहमा १५ देखि २० वटा गाडीहरू पुरिएको अवस्थामा फेला परेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले केही गाडी पुरै पुरिएको र केही आधामात्रै पुरिएको अवस्थामा भेटिएको बताए । उनले उक्त क्षेत्रलाई हामीले रेड एरिया घोषणा गरेको बताए । प्रजिअ पौडेलका अनुसार पुरिएका गाडीका मालिकहरुसँग सम्पर्क गरेर त्यहाभीत्र रहेका सामानहरु सुरक्षित स्थानमा सार्ने प्रयास पनि भइरहेको छ ।

(01:22 PM)

भोटेकोशी बाढीमा फसेका १३६ को उद्दार गर्न २४ वटा फ्लाइट

भोटेकोशी बाढीमा फसेका १३६ स्वदेशी तथा विदेशी नागरिकलाइ २४ वटा फ्लाइटबाट उद्दार गरेर काठमाडौं पुर्याइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले उद्दार गरिएकामध्ये १२७ जना विदेशी नागरिक रहेको बताए । उनले आज बिहान पनि उद्दार कार्य जारी रहेको बताए । प्रजिअ अधिकारीका अनुसार बाढीपछि अडकेका स्वदेशी र विदेशी १५० नागरिकलाइ सुरक्षाकर्मीले स्कर्टिङ गरेर सुरक्षित स्थानमा ल्याइएको छ ।
24 flights to rescue 136 stranded in Bhotekoshi flood

(11:46 AM)

रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी

नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । सुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उल्लेख गरे । उनका अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मङ्गलबार साँझ चितवनमा फेला परेको थियो ।प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशङ्कामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिए । उनका अनुसार हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव रहेका छन् ।
Search for missing people in Rasuwa flood continues

(10:16 PM)

भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्छ : इसिमोड

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले वर्षाका कारण नभइ कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने आशंका गरेको छ ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै इसिमोडले हिमताल फुटेको हुनसक्ने बताएको हो । आज दिउँसो जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा ठूलो वर्षा नभएकाले हिमताल फुटेर बाढी आएको हुन सक्ने अनुमान रहेको बताएको थियो । 'रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह चित्रमार्फत थप अध्ययन गरेर विस्तृत अनुसन्धान गर्न सकिनेछ', जारी विज्ञप्तिमा भनिएको छ, 'भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञलगायत सहभागी बहुक्षेत्रीय टोलीले बाढीको वास्तविक कारणको अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।'
Bhotekoshi may have been flooded due to the bursting of a glacial lake: Isimod

(10:00 PM)

रसुवागढी बाढीमा बेपत्ता भएकाको खोज र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी बाढीमा बेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको बैठकले बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुरु गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ ।
Instructions for effective search and rescue of missing persons in Rasuwagadhi flood

(09:23 PM)

बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी)मा मंगलबार आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरू गरिएको जनाएको छ ।बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले भोटेकोशी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेको उल्लेख गर्दै मंगलबार आएको बाढीको सम्भावित कारण पत्ता लगाउन र नदी किनारमा कस्तो असर गरेको छ भनेर पत्ता लगाउन भूउपग्रहका तस्बिरको अध्ययन प्रक्रिया सुरु गरिएको जानकारी दिए ।उनले जल ताथा मौसम केन्द्रहरूले दिएको विवरण र प्रारम्भिक अवलोकनका आधारमा भोटेकोशीको बाढी ठूलो पानी परेका कारण आएको भन्ने नदेखिने दाबी गरेका छन् । 
A study has been started to find out the possible cause of the flood

(08:10 PM)

भोटेकोशीको बाढीमा बर्दियाका ५ जना बेपत्ता

भोटेकोशीको बाढीमा बर्दियाका ५ जना बेपत्ता भएका छन् । कामको सिलसिलामा गएका उनीहरुलाई बाढीले बगाउँदा बेपत्ता भएका छन् । तीन जना बारबर्दिया नगरपालिका–१० गुमस्ताका ३६ वर्षीय जिपन चौधरी, सोही पालिका–१० फेनापतिका ३२ वर्षीय सन्तोष दहित र त्यही ठाउँका २५ वर्षीय बुद्धिराम चौधरी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।यसै गरी बढैयाताल गाउँपालिका–६ भदहीका २९ वर्षीय लक्ष्मीनारायण थारु र बारबर्दिया–९ का ३० वर्षीय सुरेश थारु बेपत्ता भएको प्रजिअ पौडेलले जनाए ।बारबर्दिया–१० का वडा अध्यक्ष रणबहादुर चौधरीले यसै वडाका तीनै जना हाइड्रोपावरमा काम गर्न गएको बताए ।
5 people from Bardia missing in Bhotekoshi flood

(07:34 PM)

भोटेकोशी बाढीमा बेपत्ता भएका असईको शव चितवनको १५ किलो नजिकै त्रिशूली नदीमा फेला

भोटेकोशी बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलो भन्ने ठाउँ नजिकै त्रिशूली नदी किनारमा भेटिएको छ । रसुवाको नेपाल-चीन मितेरी पुल नजिकै सुरक्षार्थ खटिएका असई श्रेष्ठ बाढीले बगाएपछि बेपत्ता भएका थिए । उनीसहित अरु २ जना प्रहरी जवानसमेत अझै पनि बेपत्ता छन् ।

(07:22 PM)

प्रधानमन्त्री ओलीद्वारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । उक्त विपद्बाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् ।
Prime Minister Oli inspected the flood affected areas of Rasuwa and Nuwakot

(06:54 PM)

बेपत्ता संख्या २० पुग्यो

सोमबार रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
The number of missing reached 20

(05:09 PM)

कन्टेनरको छतमा बसेर ३५ चालक, सहचालक बाँच्न सफल : तिब्बती अधिकारी

३५ जना चालक तथा सहचालक कन्टेनरको छतमा बसेर बाँच्न सफल भएको तिब्बतका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुलाई तिब्बतका सुरक्षाकर्मीले सुरक्षित स्थानमा राखेका छन् । उनीहरुले नेपालमा रहेका आफन्त र साथीभाइसँग मंगलबार मध्याह्न कुराकानी गरेर आफू सुरक्षित रहेको बताएक‍ो नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्व महासचिव तथा सोही क्षेत्रबाट व्यापार गर्दै आएका नवराज तिमिल्सिनले जानकारी दिए ।बाढीमा अनुमानित १ सय २१ वटा विद्युतीय गाडी बगेको बताइएको छ । तीमध्ये ३० वटाभन्दा बढी मालवहाक कन्टेनर बाढीले बगाएको अनुमान गरिएको छ । बगेका बाहेक चिनियाँ भागमा १३ वटा कन्टेर डुबेर फसेका थिए । स्याउ र तयारी पोसाक बोकेका कन्टेनर र एलपी ट्रकमा हाइड्रोपावरको सामान रहेका थिए ।ती कन्टेनरका ३५ जना चालक तथा सहचालक कन्टेनरको छतमा बसेर बाँच्न सफल भएको तिब्बतका अधिकारीहरुले जानकारी दिएको तिमिल्सिनले बताएका छन् ।

(04:44 PM)

चिनियाँ दूतावासले भन्यो : बाढीमा बेपत्ता १८ जनामध्ये ६ जना चिनियाँ नागरिक

रसुवागढी सीमा नाका क्षेत्रको बाढीमा बेपत्ता भएका १८ जनामध्ये ६ जना चिनियाँ नागरिक भएको नेपालस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ । रसुवागढी सीमा नाका क्षेत्रमा बेपत्ता भएकाहरुको खोजी र उद्धार व्यापक पारिएको र दूतावासले विपद्ग्रस्त क्षेत्रमा उद्धारकर्ता पठाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।

(04:23 PM)

भोटेकोशी बाढी : सामान बोकेका तीस कन्टेनर पानीमा डुबेका छन्

मंगलबार बिहानै तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि सुरु भएको विपत्तिबाट सयभन्दा धेरै गाडीहरु बगेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बगेका गाडीमध्ये कति विद्युतीय गाडी (ईभी) र कति कन्टेनर छन् भन्ने प्रस्ट खुलिसकेको छैन । तिब्बतबाट सामान ल्याएर व्यापार गर्दै आएका उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले चीनबाट सामान ल्याएर व्यापार गर्ने धेरै व्यापारीहरु बाढीबाट मर्कामा परेको बताए । उनले स्थानीय र व्यापारीहरुबाट सयभन्दा धेरै ईभी गाडी बगेको दाबी सुनाए । उनले केही कन्टेनर व्यवसायीहरुले आफ्नो कन्टेनर बगाएको जानकारी उद्योग वाणिज्य संघमा पनि गरेको बताउँदै अहिलेसम्म प्राप्त विवरणअनुसार ३० भन्दा बढी कन्टेनर बगाएको अनुमान गर्न सकिने बताए । बस्नेतले तिब्बतबाट सामान बोकेर आएका तर भन्सार नकटेका ३० कन्टेनरहरु चीनतर्फ डुबेको अवस्थामा भेटिएको बताए । उनले भने, 'हामीले पाएको जानकारीअनुसार तीमध्ये १० वटामा स्याउ छन् भने बाँकीमा रेडीमेट कपडा ।'
Bhotekoshi Flood: Thirty containers carrying goods are submerged in water

(03:31 PM)

भोटेकोशी बाढीमा करिब १ सय गाडी बगे

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकामा रहेका करिब एक सयवटा गाडी बगाएको छ । जसमा केही ईभी गाडी छन् भने धेरैजसो कन्टेनर । ती कन्टेनर सामान लिन चीनतर्फ जान लागेका र कतिपय सामान लिएर फर्किएका हुन् ।
About 100 vehicles were washed away in the Bhotekoshi flood

कान्तिपुर

Link copied successfully