काठमाडौँ — सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
न्याय परिषद्ले गत जेठ २७ गते उनीरूलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफरिस गरेको थियो । मंगलबार संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो ।नवनियुक्त न्यायाधीशहरुले आजदेखि नै इजलास पाएका छन् । मंगलबार बिहान पद तथा गोपनीयताको शपथपछि गोलाप्रथाबाट नवनियुक्त न्यायाधीशहरूले इजलास पाएका हुन् ।
नवनियुक्त तीन जना न्यायाधीशलाई यसअघि कार्यरत वरिष्ठ न्यायाधीशको नेतृत्वमा संयुक्त इजलास परेको छ । नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग बेन्च सेयर गर्नेछन् । त्यस्तै नवनियुक्त न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश कुमार चुडालसँग र नवनियुक्त न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश मनोजकुमार शर्मासँग संयुक्त इजलासमा बेन्च सेयर गर्नेछन् ।
न्याधीशहरुको शपथ कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनताको विश्वास कायम राख्न नवनियुक्त न्यायाधीशहरू अहोरात्र खटिनेमा आफू विश्वस्त रहेको बताए । उाले नेपालको न्याय प्रणालीमाथि जनताको विश्वास अभिवृद्धि गर्न सर्वोच्च अदालत दृढ रहेको समेत बताए ।
