अफताबको जन्मकैदको फैसला उल्ट्याउने न्यायाधीशहरूमाथि महाअभियोगको प्रक्रिया अघि बढाउन एमाले सांसदको माग

असार २३, २०८२

कान्तिपुर संवाददाता

UML MP's demand to proceed with the process of impeachment against the judges who overturned the verdict of Aftab's life imprisonment

काठमाडौँ — नेकपा (एमाले) सांसद किरणकुमार साहले रौतहटमा जिउँदै इँटा भट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका अफताब आलमको जन्मकैदको फैसला उल्ट्याउने न्यायाधीशहरूमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन्। 'रौतहटमा जिउँदै इँटा भट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका अफताब आलमलाई उच्च अदालत जनकपुरको कार्यालय वीरगन्जले सफाइ दिएको थियो। उक्त फैसला जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याएर गरिएको हो। अहिले जनमानसमा र सञ्चारमाध्यममा उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ,' उनले भने।

उनले सरकार साँच्चिकै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने माग गरे ।

उनले थपे, 'यो लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर अपराध हो। अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ। यदि सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीशहरूविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ। यस्तो कदम नचालिए गठबन्धन सरकारले नै आलमलाई सफाइ दिएको बुझिन्छ।'

उनले राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्ति तत्काल रोक्नसमेत आग्रह गरेका छन्।

कान्तिपुर

Link copied successfully