सरकार सञ्चालनका विषयमा एमाले-कांग्रेसका बीचमा कुनै समस्या छैन : मुख्य सचेतक बर्तौला

असार २३, २०८२

कान्तिपुर संवाददाता

There is no problem between UML-Congress regarding government management: Chief Whip Bertaula

काठमाडौँ — नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकार सञ्चालनका विषयमा एमाले-कांग्रेसका बीचमा कुनै समस्या नरहेको बताए।

सरकार सञ्चालनका लागि दुई दलबीच सात बुँदे समझदारी भएको भन्दै उनले सहमति कार्यान्वयन गरेरै सरकार अघि बढिरहेको बताए।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य सचेतक बर्तौलाले यस्तो बताएका हुन्। उनले दुई दलहरुबीच मजबुत समझदारी भएको दोहोर्‍याउँदै अन्य दलहरु सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताए।

उनले संविधान संशोधन गर्ने निष्कर्षमा दुई दलहरु पुगिसकेको उल्लेख गर्दै के कुरामा संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल हुनुपर्ने बताए। ‘सात बुँदे समझदारीप्रति दुई दलका बीचमा कुनै समस्या छैन। संसद्‌मा सबै कुराहरु आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुई वटै मिल्नुपर्छ । हामी आत्मगत परिस्थितिका आधारबाट भन्ने हो भने कांग्रेस र एमाले संसद्को १० वर्षे अवधिको समिक्षा गर्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा उभिएका हौँ,' उनले भने, 'यो निर्णयमा दुई दल पुग्ने कुरा नै पहिलो स्टेप हो। यसबाहेक उपयुक्त समयमा संविधान संशोधनको काम अघि बढ्छ।'

अनुकुल समयमै सबै दलहरुको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully