सडक सञ्जालले छिचोलियो ७७ औं जिल्ला

हुम्लाको खार्पुनाथस्थित कर्णाली नदीमा निर्मित बेलिब्रिजको आइतबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै भारतीय नाका जमुनाह (रूपैडिया) बाट चिनियाा नाका हिल्सा जोडियो

असार २३, २०८२

कृष्णप्रसाद गौतम

The 77th district is riddled with road networks

काठमाडौँ — हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलास्थित कर्णाली नदीमा निर्मित बेलिब्रिज उद्घाटन गरेसँगै हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने ७७औं जिल्ला बनेको हो ।

कर्णाली करिडोरमा पर्ने यो बेलिब्रिज बनेसँगै अब भारतीय नाका जमुनाह (रूपैडिया) बाट चिनियाँ नाका हिल्सा जोडिएको छ । 

पक्की पुल बनाउन समय लाग्ने भएपछि नेपाली सेनाको १४ नम्बर वाहिनीले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो । गत वर्ष चैत अन्तिम साता सेनाले कर्णाली करिडोरअन्तर्गतको २ सय ८६ किलोमिटर ट्र्याक खोलेपछि सिमकोटसम्म यातायातका साधन चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन । 

‘पुल नहुँदा यसअघि ३ खण्डमा गाडी सञ्चालन गर्नुपरेको थियो, यात्रु चर्को भाडाको मारमा थिए,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भने, ‘अब भारतीय नाका जमुनाह (रूपैडिया) बाट चीन सीमास्थित हिल्सासम्म एउटै गाडीमा जान सकिने भएको छ ।’ रूपैडियाबाट हिल्सासम्मको दूरी करिब ५ सय ५ किलोमिटर छ । 

कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ । पुल बनेसँगै हुम्लीको सडक सपना २६ वर्षपछि पूरा भएको छ । सिमकोट—हिल्सा सडक आयोजना कार्यालयका अनुसार २०५४ मा हुम्लामा भोकमरीसँगै फैलिएको भाइरल इन्फ्लुएन्जाबाट करिब ५० जना स्थानीयले ज्यान गुमाएपछि खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो । 

२०५७ मा जिल्ला विकास समिति (जिविस) को आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरिएकामा २०५८ बाट सडकलाई विश्व खाद्य कार्यक्रमले ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालन गरी निरन्तरता दियो । त्यस्तै २०५९ देखि २०६५ सम्म जिविसले ६ करोड ८० लाख रुपैयाँ खर्च गरी फेरि सडक निर्माणलाई निरन्तरता दिए पनि तीव्र गतिमा काम हुन सकेको थिएन ।

The 77th district is riddled with road networksपछि एक्स्काभेटर खरिद गरी सडकको काम गरिएको आयोजनाका सूचना अधिकारी ओमप्रकाश कोहारले बताए । उनका अनुसार सडक निर्माणका लागि सरकारले चैत २०६९ मा हिल्सा–सिमकोट सडक आयोजना कार्यालय स्थापना गर्‍यो भने ५ चैत २०७१ देखि सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो । सेनाले झन्डै १० वर्ष लगाएर गत वर्ष चैत अन्तिम साता ट्र्याक खोलेको थियो । सडक निर्माणमा झन्डै ७ अर्ब रुपैयाँ खर्च भएको इन्जिनियर कोहारले जानकारी दिए । 

कर्णाली करिडोरको पूर्णतासँगै समग्र कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए । सडक बनेसँगै चीनको हिल्सादेखि कर्णालीका अधिकांश जिल्लाको सम्बन्ध भारतको रूपैडियासम्म जोडिएको उनले जानकारी दिए । ‘अब चीन र भारतसँग सम्बन्ध स्थापित गरी व्यावसायिक फाइदा लिन सकिन्छ,’ उनले भने, ‘अन्य विकासका पूर्वाधार निर्माणमा पनि सहज हुन्छ, रोजगारीसँगै आर्थिक कारोबार बढ्नेछ ।’

कर्णालीको पर्यटन, पूर्वाधार निर्माण, रोजगारी र आर्थिक विकाससँग यो सडकको महत्त्व रहेको नागरिक अगुवा दुर्गाप्रसाद सापकोटाले बताए । ‘सरकारले छिट्टै कूटनीतिक पहल थाली यो सडकलाई व्यापारिक मार्गका रूपमा विकास गर्न जरुरी छ,’ उनले भने, ‘जसले पर्याप्त रोजगारीका अवसर सिर्जना गरी स्थानीय उत्पादनको बजारीकरण गर्न सहयोग पुग्छ ।’ 

कर्णाली करिडोरअन्तर्गत अहिले दुई योजना कार्यालयमार्फत सडक स्तरोन्नति भइरहेको छ । दक्षिण खण्ड (खुलालु–सलीसल्ला) मा १ सय २३ किमि र उत्तरी खण्डअन्तर्गत (सलीसल्ला–हिल्सा) योजनामा १ सय ४६ किमि स्तरोन्नति भइरहेको हो । दक्षिणी खण्डको कार्यालय बाजुरामा छ । उत्तरी खण्डको कार्यालय सिमकोटमा छ । पिलिचौर–तुम्च, तुम्कोट–हिल्सा, एलबाङ–छ्याछडा, छ्याछडा–हेक्पाखोला, कुवाडी–तुम्च गरी ५ खण्डमा सडक चौडा बनाउने, टेवापर्खाल लगाउने, ग्राभेल र कालोपत्र जारी रहेको खुलालु–सल्लीसल्ला सडक योजना कार्यालय प्रमुख तुलाराम शर्माले बताए । 

उनका अनुसार झन्डै ३ अर्ब रुपैयाँ बजेटले सडक स्तरोन्नति भइरहेको छ । करिडोरअन्तर्गत दक्षिण खण्डमा ६ र उत्तरी खण्डमा ४ गरी १० खोला तथा कर्णाली नदीमा बेलिब्रिज निर्माण भएका छन् । आइतबार पुल उद्घाटन गरिएको चुवाखोलाबाट सदरमुकाम सिमकोट १२ किमि छ । सिमकोटबाट हिल्सा ९५ किमि सडक दुई वर्षअघि सञ्चालनमा आएको थियो ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully