परासी — पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा यात्रा गर्न कष्टकर छ । घन्टौँसम्म जाममा बस्नुपर्ने र सामान्य वर्षा हुँदापनि सवारी चिप्लिने डरका बीचमा यात्रु दाउन्ने पहाडको अनकन्टार जंगलमा बस्नुपर्ने बाध्यता छ ।
असार ५ गते राति करिब साढे ११ बजे दुम्किबासमा रहेको विनय खोलाको डाइभर्सन बगायो । सोही समयमा भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस डाइभर्सन पार गर्न खोज्यो । उर्लिएर आएको खहरे खोलाको भेलले गाडीलाई डाइभर्सन पार गर्न दिएन । गाडी बीचैमा भासियो ।
यात्रुहरू अत्तालिए, बचाउनका लागि सहयोगको अपिल गरे । जाममा परेका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे । करिब आधा घण्टापछि एक्स्काभेटरसहित सुरक्षाकर्मी आएर गाडीको छतमा बसेर बचाउनका लागि अपिल गरिरहेका २४ जना यात्रुको उद्धार गरे । बसमा ३८ जना रहेकोमा बाँकी यात्रुले हामफालेर ज्यान जोगाए ।
पुस २८ गते भारतीय लहरीको ठक्करबाट विनय खोलाको पुल भासिएको हो । त्यसपछि निर्माण गरेको यो डाइभर्सन सामान्य वर्षामा पनि बगाउँदा यात्रुले निक्कै सास्ती भोग्नु परेको छ ।
locator myap link
यो सडक खण्डको यात्रा गर्दा आकाशमा बादल हेरेर मात्र हिँड्नुपर्ने अवस्था छ । यो वर्षामा भासिएको पुल मर्मत नभएपनि सडक विस्तारको क्रममा निर्माण भएको नयाँ पुल यही असार २१ गतेदेखि नयाँ पुलबाट सवारी सञ्चलन भएपनि दाउन्ने खण्डको यात्रा अहिले पनि कष्टकर नै छ ।
शनिबार १२ घण्टासम्म दाउन्नेमा जाम परेको थियो । दुम्किबासदेखि दाउन्ने मन्दिर गेटसम्मको सात किलोमिटर पार गर्न १२ घण्टा जाममा परेका यात्रुले रातको समयमा पैदल हिँड्नु परेको थियो । सोमबार पनि दाउन्ने खण्डको विश्वकर्मा मन्दिर नजिकै सडक एकतर्फी सवारी सञ्चालन हुँदा दाउन्ने खण्ड पार गर्न ४ घण्टा समय लागेको यात्रु मुना पौडेलले गुनासो गरिन् । विश्वकर्मा मन्दिर नजिकै सडक भासिएको र गिट्टी हालेर मर्मत गरेपनि ठूला सवारी फस्दा यातायात प्रभावित भएको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।
यातायात सहज रुपमा सञ्चालन गर्न योजना बनाएपनि पानी परेपछि सडक भत्कने, चिप्लो हुने समस्याले यो वर्षामा यो खण्डको यात्रा थप कष्टकर हुने छ ।
pichart link
नारायणगढ–बुटवल सडक विस्तारको क्रममा काम सुरु भएपछि सबैभन्दा बढी सवारी आवागमन अवरुद्ध दुम्किबास र बर्दघाटको बीचमा रहेको दाउन्ने सडक खण्डमा भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्ने २०८१ वैशाख २५ गते देखि २०८२ असार ९ गते सम्म ६३ पटक सडक अवरुद्ध भएको छ । यसले पनि दाउन्ने सडक खण्डको यात्रा कति कष्टकर छ भन्ने देखाउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख जनक बन्जराका अनुसार सिमसिम पानी पर्नासाथ सडक हिलो हुने र सवारी उकालो ओरालोमा उक्लन झर्न नसक्ने अवस्था आउँदा बढी समस्या भएको बताए । यो वर्षामा यो सडक खण्डको यात्रा गर्नुभन्दा वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले सुझाव दिँदै आएको छ ।
४४ महिनामा निर्माण हुनुपर्ने सडक ७ वर्षमा पनि बनेन
सडक विस्तार समयमा नै नहुँदा यात्रु र स्थानीयले सास्ती भोगिरहँदा सरकारले चौथो पटक म्याद थपको तयारी गरेको छ । २०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने भएपनि तेस्रो पटक थप भएको म्याद पनि यही साउन ८ गते सकिँदै छ ।
कोरोना कहर, निर्माण सामग्रीको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो । पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो ।
तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि २०८२ साउन ८ गते सम्मका तेस्रो पटक म्याद थप भएपनि अहिले सम्म ७० प्रतिशत मात्र काम भएको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।
१ सय १४ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । तेस्रो पटक थप भएको समयमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थप गर्ने तयारी छ ।
नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत दुई क्षेत्रमा काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार गरिरहेको छ ।
