बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष सितल साह पक्राउ

असार २३, २०८२

कमलेश ठाकुर

Greater Janakpur Area Development Council President Sital Shah arrested

जनकपुरधाम — बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह किर्ते मुद्दामा पक्राउ परेका छन् । सोमबार उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

किर्ते र जालसाजी अभियोगमा साहलाई पक्राउ गरेको धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिए। उनका अनुसार प्रहरीले उनीमाथि जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका साहले परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको किर्ते हस्ताक्षर गरी ४ जना कर्मचारी बर्खास्त गरेका थिए । पासवानले अध्यक्ष साहविरुद्ध गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । विधि विज्ञान प्रयोगशालाबाट उक्त हस्ताक्षर सम्बन्धी परीक्षण प्रतिवेदन आएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीले जिल्ला अदालत धनुषाबाट वैशाख २५ गते पक्राउ गर्न अनुमति लिएको थियो। त्यसयता साह फरार रहेका थिए । साहले हस्ताक्षर किर्ते गरी प्रशासकिय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्रि गिरी, नासुद्वय मदन चौधरी र संजय मण्डललाई बर्खास्त गरेका थिए।

नेकपा एकिकृत समाजवादीको सिफासिमा बृहत्तर जनकपुरका अध्यक्ष नियुक्त भएका थिए । मुद्दाबाट जोगिनकै लागि समाजवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully