'कुलिङ अफ पिरियड'को व्यवस्थामा छेडखानी गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनियो : रास्वपा

असार २३, २०८२

कान्तिपुर संवाददाता

By tampering with the arrangement of 'cooling off period', a scandalous story was woven in the parliamentary practice: RSVP

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संघीय निजामती विधेयकमा 'कुलिङ अफ पिरियड'को व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले विधेयकको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरूलाई नै ठग्ने काम भएको बताए । उनले कुलिङ अफ पिरियड व्यवस्थामा हेरफेर सन्दर्भमा गठित छानबिन समितिको नेतृत्व नेपाली कांग्रेसलाई दिन नहुने बताए । उनले भिजिट भिसा प्रकरणमा समेत आफूहरूको आन्दोलन जारी रहेको बताए ।

उनले भने, ‘भिजिट भिसामार्फत भइराखेको सङ्गठित अपराधसम्बन्धी हाम्रो आन्दोलन जारी नै छ। त्यो आन्दोलन जारी रहेकै बेला संसदीय अभ्यासमा एउटा कलङ्कित कथा बुनियो। त्यो जुन कुलिङ पिरियडको बारेमा समिति सभापतिज्यूले प्रस्ताव गर्नुभएको भन्दा निकै फरक। र जुन मुद्दा सबैभन्दा गम्भीर र महत्त्वपूर्ण थियो, त्यही मूलमा छेडखानी भएर यहाँ फरक आयो। त्यसमा हुन्छ हुँदैन भन्दैमा हामी ठगियौँ। यसमा संसदीय छानबिन समिति बन्दैछ भन्ने कुरा थाहा पायौँ, त्यसमा हाम्रो सहमति पनि रहनेछ। तर जुन व्यक्तिमा औँला उठ्दैछ, त्यो व्यक्तिको नाम जोडेर नै समिति बन्नुपर्छ भनेर तपाईंहरूले विभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो। त्यो बिर्सिनुभएछ।’

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै संसद् अवरोध गर्दै आएका छन्।

कान्तिपुर

Link copied successfully