आज देश-दुनियाँमा के-के भयो ?

असार २२, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला सदरमुकाम सिमकोट, खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या आएको गभर्नर पौडेल भनाइ, माओवादी सांसद शर्माले कांग्रेस प्रमुख सचेतकलाई ‘आफ्नै दलमा लगाउनू ह्वीप’ भनेपछि..., टेक्सासमा बाढीमा परी मृत्यु हुनेको संख्या ५० पुग्योदेखि दक्षिण एसियाली करातेमा नेपाल उपविजेतासम्मका खबर आज चर्चामा रहे । 

०००

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गरेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । पक्की पुल निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेनाले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो ।  

०००

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन्। ठूला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा यो समस्या समाधान नहुने उनको भनाइ छ ।  

०००

माओवादी सांसद रेखा शर्माले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेलाई आफ्नै दलमा ह्वीप लगाउनु भनेपछि आपत्ति जनाएकी छन् । विद्यालय शिक्षा विधेयकमाथि भएको छलफलमा प्रमुख सचेतक घिमिरेले शर्माको टिप्पणीमाथि नियमापत्ति जनाएका हुन् ।  

०००

मेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट ‘आठ मिटर’ ले बढेको थियो । 

०००

नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिए। महिला ६८ केजीमाथि कराते महासङ्घबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए । 

कान्तिपुर

Link copied successfully