काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि आइतबार छलफल बोलाइएको थियो ।
बैठकबाट विद्यालय शिक्षा विधेयक पारित गरिने जानकारी समिति सभापति अम्मरबहादुर थापाले सांसद र पत्रकारहरूलाई जानकारी गराइसकेका थिए । तर, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले समितिको बैठक स्थगनको प्रस्ताव राखे ।
सभापति थापाले समिति सदस्य घिमिरेलाई कांग्रेसको प्रमुख सचेतकको हैसियतमा बोल्नका लागि समय दिएका थिए । सामान्यतः समितिमा जोसुकै पार्टी वा संसदीय दलका पदाधिकारी भएपनि सदस्यका हैसियतमा नै बोल्न दिइन्छ । तर सभापति थापाले भने घिमिरेलाई कांग्रेस प्रमुख सचेतकका रूपमा बोल्न अनुमति दिए । घिमिरेले बैठक स्थगनको प्रस्ताव राखे ।
संसद्को ठूलो दल र सत्तासाझेदार पार्टीका प्रमुख सचेतकले बैठक स्थनको प्रस्ताव राखेपछि समितिमा अलमल भयो । त्यसपछि प्रमुख प्रतिपक्षी माओवादी सांसद रेखा शर्माले आपत्ति जनाइन् । विधेयकमाथि छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा दलको ह्वीप अस्वीकार्य भएको शर्माको भनाइ थियो । समितिको बैठक सुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रस्ताव गर्नुको सट्टा बैठक नै स्थगित गर्ने प्रस्ताव आएको भन्दै आपत्ति जनाएकी थिइन् । ‘कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्वीप मान्न यो समिति बाध्य छैन, मानिँदैन । ह्वीप कहाँ लाउने हो आफ्नो ठाउँमा लगाउनू, आफ्ना दलमा लगाउनू,' उनले भनिन् ।
त्यतिबेलासम्म घिमिरे बैठकबाट बाहिरिन उठिसकेका थिए । उनले सांसद शर्माको भनाइमा आफ्नो नियमापत्ति रहेको बताए । जवाफमा शर्माले भनिन्, 'नियमापत्ति गर्दै गर्नुहोला, हाम्रो पनि नियमापत्ति छ ।'
घिमिरेलाई प्रमुख सचेतक भनी सम्बोधन गरी बोल्न समय दिएकोमा सभापति थापाले क्षमा मागे । 'उहाँ यो समितिको सदस्य हो । आफ्ना धारणा राख्ने कुरामा स्वतन्त्र हुनुहुन्छ । व्यक्तिगत तवरमा कुरा नगरौं,' उनको भनाइ थियो ।
त्यसपछि सांसद शर्माले सभापतिलाई प्रश्न गरिन्, 'बैठक सुरु हुन पाएको छैन स्थगनको प्रस्ताव आइसकेपछि यसले राम्रो गरिराखेको छ ? राम्रो सन्देश जान्छ ? हामी राम्रो काम गरिरहेका छौं ?'
त्यसपछि सांसद घिमिरेले आफू प्रतिनिधिसभा र समितिको सदस्य रहेको बताए । माओवादी सांसद शर्माको भनाइले आफ्नो अपमान भएको उनको दाबी थियो । 'यसरी अपमानित ढंगले बोल्न पाइँदैन, यस्तो कुरा नि हुन्छ ?,' उनले भने ।
जवाफमा सांसद शर्माले भनिन्, 'सभापतिले बैठक अगाडि बढाउँ भन्ने प्रस्ताव राख्नुहुन्छ । प्रमुख सचेतकको कुरा आउँछ बैठक रोकौं भन्ने । त्यसो हो भने जहाँ-जहाँ पारित गर्नुपर्ने हो गरेर ल्याउनुस्, अनि हामी धारणा राखौंला । बैठक चलाउने तरिका यहिँ हो ? जसरी बैठक बोलाइएको छ, सभापतिको कन्ट्रोलमा बैठक छ कि छैन ?'
सांसद शर्माले संसदीय समिति बैठक बोलाउने र छलफल गर्नमा खेलाँची भएको बताइन् । विधेयक पारित गर्ने भनेर सांसदहरूलाई बोलाएर बैठक सुरु नहुँदै स्थगनको प्रस्ताव आउनु सही नभएको उनको भनाइ थियो । 'समिति सभापतिले टाढा-टाढाबाट समितिका सदस्यहरुलाई बोलाएर बैठक राखेर बैठक सुरु नहुँदै बैठक स्थगितको प्रस्ताव आएपछि यसले राम्रो सन्देश दिन्छ ? यसले हामी राम्रो कानुन बनाउँदैछौं भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ ? अरु नयाँ कुरा आएको भएपनि हुन्थ्यो हामीले सहमति गरेका विषयहरुमा डोजर चलाइँदैछ । यस्तोमा हामी यो ठिक हो भनेर ताली बजाउन सक्छौं ?’
समिति सभापति थापाले माफी मागेपछि सचेतक घिमिरे सिटमा बसेका थिए । शर्माले सरकारले विधेयकका सन्दर्भमा सहमति भइसकेका विषय बल्झाउने प्रयास गरिरहेको बताएकी थिइन् ।
