त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा चुस्त सुविधा छैन : सांसद ढकाल

असार २२, २०८२

कान्तिपुर संवाददाता

Tribhuvan International Airport does not have smooth immigration facilities: MP Dhakal

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा चुस्त सुविधा नभएको एमाले सांसद एकनाथ ढकालले बताएका छन् । 

नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थललाई अझै व्यवस्थित बनाउन नसकिएको सांसद ढकालको भनाइ थियो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आइतबारको बैठकमा सांसद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सुधारको आवश्यकता रहेको बताए । 

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसद ढकालले नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यसलाई पनि राम्रोसँग व्यवस्थित गर्न नसकिएको बताएका हुन् । ‘नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यसलाई व्यवस्थित बनाउने सन्दर्भमा हामीले प्रतिनिधिसभाको बैठकमा पनि पटक पटक आवाज उठाइरहेका छौँ । तर विमानस्थल थप व्यवस्थित हुन सकिरहेको अनुभुति भएको छैन,' सांसद ढकालले भने, 'यहाँ निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीले ढिलासुस्ती व्यहोर्नुपर्ने, जहाँज आउँछ, त्यसपछि इमिग्रेसनमा पनि चुस्त किसिमको सुविधा छैन । लगेज डेढ घण्टासम्म कुनुपर्ने स्थिति छ ।’

सांसद ढकालले विमानस्थलको कारण नै विदेशी नागरिक नेपालमा आउनबाट भागिरहेको दाबी गरे । विमानस्थलमा यात्रुलाई सुविधा दिन नसकिएको उनको भनाइ थियो ।

नेपालको भ्रमणमा आउने विदेशी पर्यटकलाई विमानस्थलमा आवश्यक सेवा सुविधा दिन नसक्दा मुलुककै शाख गिर्ने उनको भनाइ थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully