काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा एक महिनाभन्दा लामो तालाबन्दी खुले पनि पदात्रिकारीहरूलाई भने प्रवेशमा रोक लगाइएको छ । सर्वोच्च अदालतको आदेशपछि आंशिक प्राध्यापक संघ, नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविमा लगाएको ताला खोलेका हुन् ।
तर माओवादीको भ्रातृ संगठन अखिल कान्तिकारिले उपकुलपति रेक्टर र रजिस्ट्रारलाई त्रिवि प्रवेशमा रोक लगाइएको भन्दै सूचना जारी गरेको छ । अखिल क्रान्तिकारी विश्वविद्यालय समितिले त्रिविले फास्ट ट्य्राकमा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक भर्ना गर्न लागेको भन्दै आपत्ति जनाएको हो ।
'प्रवेशविन्दु(उपप्राध्याक) मा नै लिखित परीक्षासमेत नलिइकन केवल मौखिक परीक्षाबाट स्थायी गरिने प्रक्रिया स्थापित मूल्य मान्यता विपरीत रहेको हाम्रो संगठनले ठहर गरेको छ,' अखिल क्रान्तिकारीले भनेको छ ।
त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले तालाबन्दी नगर्न/नगराउन, ताला लगाएको भए खोल्न/खोलाउन गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
