बुटवल — निर्वाचन आयोगले रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा कात्तिक १७ गते प्रतिनिधिसभाको उपनिर्वाचन गर्ने मिति तोकेपछि उम्मेदवारी घोषणा सुरु भएको छ । राजनीतिक दलहरूले उम्मेदवारका लागि आन्तरिक छलफल गरिरहेका बेला सो क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवार बन्ने घोषणा आएको हो ।
रूपन्देही–३ बाट २०७९ मंसिरमा निर्वाचित राप्रपाका दीपक बोहोराको २०८१ चैत १९ गते मृत्यु भएपछि यो क्षेत्र खाली भएको हो । बुटवल उपमहानगरपालिका–१९, मोतिपुर निवासी लेखनाथ गैरेले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
बुटवलका युवा व्यवसायी तथा सामाजिक अभियन्ता गैरेले आइतबार पत्रकार सम्मेलन गर्दै पहिलो उम्मेदवारी घोषणा गरेका हुन् । ठूला राजनीतिक दलप्रति वितृष्णा बढेको र जनताले इमानदार, स्वतन्त्र र युवा उम्मेदवार खोजिरहेकाले आफू त्यसका लागि योग्य ठानी उम्मेदवारी दिन लागेको उनले बताए । आफू अहिलेसम्म कुनै राजनीतिक दलमा आबद्ध नभएको उनले स्पष्ट पारे।
गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रूपन्देही-३ मा पर्ने तिनाउ नदीमा स्थानीय तहहरूले लगाउने ठेक्कामा हरेक वर्ष करोडौँ रुपैयाँ बराबरको ढुंगा, गिट्टी, बालुवाको चोरी निकासी नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली तथा चोरी निकासी नियन्त्रण, मल, बिउ र सिँचाइको समस्या समाधान, पर्यटन र सुशासन आफ्नो प्राथमिक एजेन्डा रहेको गैरेको दाबी छ।
‘जनताको भावनाको आत्मसम्मानसहित देशको आवश्यकता र कर्तव्यबोधबाट प्रेरित भएर स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेको छु,’ उनले भने, ‘अहिलेको जनचाहना पनि त्यही हो र त्यो म पूरा गर्न प्रतिबद्ध छु।’ उनले भ्रष्टाचाररहित समाज निर्माण गर्दै देशमा शिक्षा, स्वास्थ्य र विकासका एजेन्डालाई आफूले चुनाव जित्ने आधार बनाएको दाबी गरे।
नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरपालिका-१४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाका वडा नं. ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नं. २, सियारी गाउँपालिकाका वडा नं. १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नं. १३ र १४ सम्म क्षेत्र रूपन्देही–३ मा पर्छन्। रूपन्देही-३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन्।
यस क्षेत्रको उपनिर्वाचनमा नेपाली कांग्रेसले यसअघि दीपक बोहोरासँग पराजित बालकृष्ण खाँणलाई अघि सार्ने तयारी गरेको छ । उनको मुद्दा टुंगो नलागेको अवस्थामा प्रमोद यादवको सम्भावना रहेको छ ।
त्यस्तै, एमालेबाट खिमलाल भट्टराई र भरत पोखरेलको चर्चा छ । एमालेकै लुम्बिनीका पूर्व प्रदेशसभा सदस्य दधिराम न्यौपाने र सिद्धार्थनगर नगरपालिकाका पूर्व प्रमुख हरि अधिकारी पनि आकांक्षी छन् ।
राप्रपामा दीपक बोहोराकै दुई छोरा प्रज्वल र गौरव बोहोराको चर्चा छ । दीपककी नातिनी स्वाती थापाको पनि चर्चा छ । तर, दीपकका छोरा क्याप्टेन गौरवलाई रास्वपाले पनि उठ्नका लागि आग्रह गरिरहेको चर्चा छ।
मधेश केन्द्रित दलहरूको बाहुल्यता रहेकाले लोसपा, जनमत, नागरिक उन्मुक्ति र जसपा नेपालले साझा उम्मेदवार उठाउने प्रयास गरिरहेका छन् । नागरिक उन्मुक्तिले साझा उम्मेदवार आफूले पाउनु पर्ने र नपाए अलग उम्मेदवारी दिने प्रयास गरिरहेको छ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट घनश्याम भुसाल र मेडिकल व्यवसायी कमल भण्डारीको चर्चा छ । स्वतन्त्रबाट काठमाडौंका मेयर बालेन शाहका समर्थकले पनि उम्मेदवारी दिने चर्चा छ । तर, को उठ्ने भन्ने टुंगो लागिसकेको छैन। डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल वा उनले अघि सारेका व्यक्तिलाई उठाउने चर्चा चलिरहेको छ ।
