काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानुन बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पूर्वमन्त्रीसमेत रहेका सांसद ज्वालाले जनताले बुझ्ने सरल भाषामा कानुन लेख्नु राम्रो हुने बताएका हुन् ।
'हामीले नीति बनाउने तर नीतिअनुसार कानुन नबनाउने गरेका छौँ । कानुन बनाउने कुरामा नै जगमै सबैभन्दा बढी ध्यान दिनुपर्छ । हाम्रो ध्यान सबैभन्दा बढी सेवाग्राही जनतामा केन्द्रित हुनुपर्छ । जनताले बुझ्ने सरल भाषामा कानुन लेख्नु राम्रो हुन्छ । कानुन बुझेको छैन भन्न पाउँदैनस् भनेर कारबाही गर्ने भएपछि कानुन बुझ्ने पनि बनाइदिनुपर्छ नि त,' उनले भने ।
सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको सांसद ज्वालाको भनाइ छ । उनले भने, 'सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मानिन्छ । तर नेपालका सन्दर्भमा हवाई सेवा असुरक्षित भएको पीडा भोगिरहेका छौँ । ठूला घटना भइरहेका छन् । आइकाओले समेत हामीलाई नेगेटिभ लिस्टमा राखेको छ । यो गम्भीर कुरा हो ।'
सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानुनको छातामुनि राख्नु नहुने बताए । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको छ ।
