काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारमा बसिराख्ने न्यूनतम आधार के हो भनेर निर्धारण गर्नुपर्ने बताएका छन्।
केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार धारणा राख्दै नेता महतले गठबन्धन सरकार भएकाले सरकारका विषयमा पार्टी गम्भीर हुनुपर्ने बताए।
उनले भने, 'यो गठबन्धन सरकार हो, सबै कुरा कांग्रेसले भनेको जस्तो नुहुन सक्छ। तर बस्दा पनि गाह्रो, नबस्दा पनि गाह्रो हुने अवस्था अहिले भएको छ। तर सरकारमा बसेपछि त्यहाँ बसिराख्ने न्युनतम आधार के हो? त्यो तयार गर्न जरुरी रहेछ।'
उनले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले अरु दलका मन्त्रीभन्दा उत्कृष्ट कार्य गर्नुपर्ने र जनतामा सकारात्मक सन्देश दिनुपर्ने बताए। प्रवक्ता महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिन आग्रह गरे। उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए ।
'हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं । यही नै पार्टीको राइट टु द सेन्टर हो । कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन् । तर हामी आस्थावान् छौं । यही हाम्रो पार्टीको आधार हो, हरेक धर्म मान्नेका अधिकार सुनिश्चत गर्दै यसको संरक्षण गर्न जरुरी छ,' उनको भनाइ छ।
