'हाम्रा पार्टीका एक दुई जना साथीहरूले अन्तरविरोध बढाउने काम गरिरहनुभएको छ । त्यो पनि राम्रो होइन । पूर्वराष्ट्रपतिलाई जुन प्रकारले विवादमा ल्याउन खोजिरहनुभएको छ, त्यो पनि राम्रो कुरा होइन ।’
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको पार्टी राजनीतिमा फर्किएको र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा चुनौती दिने अड्कल चलिरहेका बेला एमालेका सचिव रघुवीर महासेठले भने त्यसमा सत्यतता नरहेको बताएका छन् । एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओलीकै निर्देशन र सहमतिमा अघि बढ्ने महासेठले दाबी गरेका छन् ।
भण्डारीले केही पहिले गरेको चीन भ्रमणमा पार्टीको तर्फबाट सहभागी रहेका सचिव महासेठले अध्यक्ष ओलीसँग पूर्वराष्ट्रपतिको अन्तरविरोध नरहेको बताएका हुन् ।
जनकपुरमा आइतबार आयोजित कार्यक्रममा महासेठले एमालेको आन्तरिक जीवनको बारेमा धेरै प्रश्न गरिएको भन्दै पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको भ्रम फिँजाउन खोजिए पनि सत्य नरहेको बताए ।
कार्यकर्ता कित्ताकाट भएका छन् भन्नेकुरा भ्रम मात्रै भएको महासेठको भनाइ थियो । ‘अहिले जुन प्रकारले बजार हल्ला छ, अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको छ, कार्यकर्ता कित्ताकाट गरिरहेको छ । दिनहुँ मिडियामा कित्ताकाटका समाचार आइरहेका छन् । त्यसमा कुनैपनि सत्यता छैन,' उनले भने, 'हामीमा कुनै अन्तरविरोध छैन । यदी उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ । स्वाभाविक छ, पहिला पार्टीको वरिष्ठ नेतृ हुनुहुन्थ्यो ।'
पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन संविधानले नरोकेको पनि महासेठको भनाइ थियो । 'हाम्रो संविधानले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन,त्यस्तो कुनै बन्देज गरेको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । हाम्रो सचिवालयमा पनि यसमा छलफल भएकै हो । यदी उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ?,' उनले भने, 'हाम्रा पार्टीका एक दुई जना साथीहरूले अन्तरविरोध बढाउने काम गरिरहनुभएको छ । त्यो पनि राम्रो होइन । पूर्वराष्ट्रपतिलाई जुन प्रकारले विवादमा ल्याउन खोजिरहनुभएको छ, त्यो पनि राम्रो कुरा होइन ।’
सचिव महासेठले आफू कुनै कित्तामा नभइ पार्टीको कित्तामा रहेको बताए । एमालेभित्र अन्तरविरोध बढाउने काम नगर्न पनि सचेत गराए ।
