'समयमै मल दिन नसक्दा निकम्मा मन्त्री, निकम्मा सरकार भनेर किसानको गाली आउँछ'

असार २२, २०८२

कान्तिपुर संवाददाता

”Farmers are scolded for not giving fertilizer on time, saying that the minister is useless and the government is useless”

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाइ हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा मन्त्री अधिकारीले ऐनमा रहेको असजिलो र जटिल व्यवस्थाकै टेन्डर प्रक्रिया सुरु गरेदेखि मल आइपुग्न २ सय २७ दिन लाग्ने गरेको बताएका हुन् ।

आयातित मल वितरण गर्नसमेत महिनौं लाग्ने गरेको कारण किसानलाई समयमै मल नपुग्ने समस्या सिर्जना भइरहेको उनको भनाइ छ । मन्त्री अधिकारीले मल आयात भइसकेपछि १५ दिनभन्दा बढी गोदाममा गरी जाने विषयमा अर्थ मन्त्रालयसँग सहमति भइसकेको बताए । 'हाम्रो सार्वजनिक खरिद ऐनले निकै असजिलो बनाएको छ । टेन्डर सुरु गरेको २२७ दिनमा मल आइपुग्ने रहेछ । अनि मल आइपुगेपछि वितरण गर्न जाँदा महिनौं लाग्ने रहेछ । धान अहिले सामान्यतः हिमालबाहेक १२० दिनमा उत्पादन भइसक्छ,' उनले भने ।

हामीले मल वितरणलाई सहज बनाउनका लागि अर्थ मन्त्रालयसँग सहमति भइसकेको मन्त्री अधिकारीको भनाइ छ । 'मल समयमै आपूर्ति हुन सकेन, निकम्मा मन्त्री, निकम्मा सरकार भनेर कृषकहरूले गाली गर्नुहुन्छ । त्यसकारण मल वितरणलाई कसरी सजिलो बनाउने भन्नेबारे गहन छलफल होस्,' उनले भने । 

रासायनिक मलको समयमै आपूर्ति नहुने र खाद्य सुरक्षाका लागि समेत कृषकलाई प्राङ्गारिक मलको प्रयोगमा बढावा दिनसमेत उनको आग्रह छ । 

कान्तिपुर

Link copied successfully