नवलपरासी पूर्व — पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्डको हिलो सुकेका कारण एकतर्फी यातायात सञ्चालन भएको छ । राजमार्गको हिलो सुकेपछि दाउन्नेको विश्वकर्मा मन्दिरनजिक फसेको गाडी निकालेपछि केही बेरअघि यातायात सञ्चालनमा आएको हो ।
दाउन्नेमा जाम हुन नदिन प्रहरीले ४० किलोमिटर वरै रजहरमा बिहानैदेखि नारायणगढबाट बुटवलतर्फ हिँडेका ट्रक रोकेको छ । दाउन्नेमा गाडीको लामो जाम हुन नदिन रजहरमै मालवाहक र रित्ता लामा सबै गाडी रोक्न परेको प्रहरीको भनाइ छ ।
दाउन्नेको जाम घटेपछि रोकिएका गाडी पठाउने बताइएको छ । वर्षा हुनासाथ गाडी फसेर राजमार्ग अवरुद्ध हुने र सुकेपछि मात्र यातायात सञ्चालन हुने अवस्था रहेको छ ।
राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका सयौं गाडी दाउन्नेमा अलपत्र पर्दासमेत राजमार्ग स्तरोन्नतिको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले राजमार्ग खुलाउन कुनै पहल गरेको छैन ।
दाउन्नेको विश्वकर्मा मन्दिर नजिक सामान्य वर्षा हुनासाथ मालबहाक गाडी फस्ने गरेका कारण हरेक दिन लामो जाम हुने गरेको छ । राजमार्ग स्तरोन्नतिको काम गरिरहेको ठेकेदार कम्पनी बेखबर देखिएको छ ।
