राजर्षिजनक विश्वविद्यालयको भवन राजनीतिक हस्तक्षेपले बन्न सकेन : नेता निधि 

असार २१, २०८२

कमलेश ठाकुर

Rajarshijanak University building could not be built due to political interference: Leader Nidhi

जनकपुरधाम — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राजनीतिक हस्तक्षेपले राजर्षिजनक विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन बन्न नदिइएको आरोप लगाएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित जनप्रतिनिधिहरुले नगराइन नगरपालिका फुलगामा बन्न नदिएको नेता निधिको आरोप छ । 

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर नेता निधिले गुठी संस्थानसंग फुलगाको १३ बिघा जमीनमा बनाउने सहमति भइसकेको बताए। तर केही नेताहरुले शिक्षा मन्त्रीलाई दबाब दिएर केन्द्रिय भवन बन्न नदिइएको उनले गुनासो गरे। 

'पहिला हामी जनकपुरमा केन्द्रिय भवनको लागि जग्गा खोज्यौ । जग्गा पाइएन,' नीधिले भने, ' अहिले फुलगामामा जग्गा छ । तर बन्न दिइएको छैन ।' संघीय सरकारको पूर्ण स्वामित्वमा रहेको विश्वविद्यालयको भवन निर्माणको लागि ८ करोड रकम भएपनि विविध कारणले बन्न नदिएको उनले बताए । 

राजर्शिजनक विश्वविद्यालयको ऐनमा जनकपुरधामको रामसागर रामस्वरूप बहुमुखी क्याम्पस (राटाब), सिरहा र सप्तरीको क्यापमस आधार क्यम्पस हुने व्यवस्था भएपनि राजनीतिक हस्तक्षेपले नै रोकिएको उनले सुनाए । 

विश्वविद्यालयका उपकुलपति प्रो. डा. अमर प्रसाद यादवले विश्वविद्यालय अनुदान आयोगको अनुमतिमा ढिलाइ हुँदा भवन निर्माण हुन नसकेको बताए । विधानमा धनुषा जिल्लामा केन्द्रीय कार्यालय राख्ने प्रावधान रहेको उनले बताए । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully