रावाबेसीमा झन्डै एक करोड मूल्य बराबरको लिची उत्पादन

असार २१, २०८२

डम्बरसिं राई

Lychee production worth about 1 crore in Rawabasi

खोटाङ — खोटाङको रावाबेसी गाउँपालिकामा यो वर्ष एक सय ८४ मेट्रिक टन लिची उत्पादन भएको छ । गाउँपालिका कृषि शाखा प्रमुख उद्धव बास्तोलका अनुसार प्रतिकेजी ५२ रूपैयाँले हिसाब गर्दा ९५ लाख ६८ हजार रूपैयाँभन्दा बढी रकम भित्रिएको हो ।

पालिकाको सबैभन्दा बढी वडा नं. १ कुभिण्डेमा ८८ मेट्रिक टन लिची उत्पादन भएको छ । उक्त वडामा ११ हेक्टर क्षेत्रफल लिची उत्पादन हुने गरेको बास्तोलाले सुनाए । त्यस्तै वडा नं. २ खार्पामा २४  मेट्रिक ट, ३ नम्बर लामीडाँडामा १६, ४ नम्बर धारापानीमा १६, ५ नम्बर दुवेकोलमा ८ र ६ नम्बर हौंचुरमा ३२  मेट्रिक टउत्पादन भएको बास्तोलाले जानकारी दिए ।

दुई वटा बोटको लिचीबाट यो वर्ष ३० हजार आम्दानी गरेका कुभिण्डेका प्रेमबहादुर मगर बताउँछन् । ‘अब लिची खेतीमा जोड दिने योजनामा छु, लिचीलाई धेरै हेरचाह पनि गर्नु पर्दैन,’ उनले भने । 

कुभिण्डेकै खड्गप्रसाद रेग्मीले पनि यो वर्ष एउटै बोटमा फलेको लिचीबाट ४५ हजार आम्दानी गरेको बताए । ‘बोटमै ठेकेदारले ४५ हजार दियो,' उनले भने ।

रावाबेसीमा जिल्लाकै सबैभन्दा बढी लिची उत्पादन हुन्छ । यहाँको लिची जिल्लाबाहेक राजधानी लगायत तराईका सहरसम्म पुग्ने गरेको छ । कृषकले उत्पादन गरेको लिची विभिन्न जिल्लाबाट आउने ठेकदारले बोटबाटै प्रति दाना एक रूपैयाँका दरले किन्ने गरेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताए । यहाँका कृषकले गाडी रिजर्भ गरेर दिक्तेल बजार, हलेसी लगायतका ठाउँमा लगेर प्रतिकेजी एक सयदेखि एक सय पचास रूपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । 

रावाबेसी गाउँपालिकालाई लिची ‘हब’का रूपमा विकास गर्न गत असार १० गते सम्पन्न १७ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully