विद्यार्थीलाई गगनको सुझाव : ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’

असार २१, २०८२

कान्तिपुर संवाददाता

Gagan's advice to students: ”Don't get tired, don't run away, don't swallow”

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउन आग्रह गरे।

त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए ।

थापाले देशमा केही राम्रो भएको तर अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गर्दै, राम्रो कामका लागि धन्यवाद र अपुगका लागि प्रश्न गर्न आग्रह गरे। उनले विद्यार्थीहरूलाई अबको जिम्मेवारी आफूहरूले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए।

महामन्त्री थापाले भने, 'कसैले यो देशमा खतरा भएको छ भनेर नपत्याउनुस्। तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस्। दुवै कुरामा सत्य छैन। यो देशमा केही राम्रो भएको छ, केही राम्रो गर्न सकिएको छैन। राम्रो गरेकोमा धन्यवाद भन्नुस्, गर्नुपर्ने जति किन गरिएन भनेर प्रश्न गर्नुस्। बाँकी काम म गर्छु भनेर जिम्मा लिनुस्। नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्। अडिएर बस्नुस्, नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस्, आलोचनात्मक हुनुस् र रमाइलो पनि गर्नुस्।'

उनले अबको पुस्ताले आफूभन्दा राम्रो काम गर्ने विश्वास आफूमा रहेको पनि बताए।

कान्तिपुर

Link copied successfully